Politics

नेपाली भूमि भारत–चीनविरुद्ध प्रयोग गर्ने षड्यन्त्र हुँदैछ ः एमाले महासचिव पोखरेल

नेपाली भूमि भारत–चीनविरुद्ध प्रयोग गर्ने षड्यन्त्र हुँदैछ ः एमाले महासचिव  पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भारत र चीनविरुद्ध प्रयोग गर्ने अखडाका रूपमा बदल्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। उनले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन विदेशी शक्तिको योजनाअनुसार कठपुतली सरकार निर्माण गर्ने प्रयास भइरहेको दाबी गरे। प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान राजनीतिक गतिविधि र आगामी निर्वाचनलाई सामान्य रूपमा नलिन आग्रह गर्दै यसलाई मुलुकको भविष्यसँग जोडिएको निर्णायक मोडका रूपमा व्याख्या गरे।

ADVERTISEMENT

उनले भने, ‘नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन कठपुतली सरकार बनाउने काम भएको छ। भविष्यमा पनि त्यसलाई निरन्तरता दिन जनतामा जिल्लेन्सी जन्माउने उद्देश्यसहित चुनावी अभियान अगाडि बढाइएको छ। महासचिव पोखरेलले शक्ति राष्ट्रहरूले नेपाललाई दुवै छिमेकी मुलुक भारत र चीनविरुद्ध प्रयोग गर्ने प्रयास गरिरहेको दाबी गर्दै त्यस्तो षड्यन्त्रलाई नेकपा एमालेले सफल हुन नदिने स्पष्ट पारे।

हाम्रा दुवै छिमेकी मुलुक भारत र चीनका विरुद्ध शक्ति राष्ट्रहरूको चलखेल गर्ने अखडाका रूपमा नेपालको भूमि प्रयोग गर्न नदिने, मुलुकको स्वाभीमान, स्वाधीनता र राष्ट्रिय हितलाई मजबुत बनाउने योजनाका साथ नेकपा एमाले अगाडि बढिरहेको छ,’ उनले भने। उनले आउँदो निर्वाचन अघिल्ला निर्वाचनभन्दा फरक र विशिष्ट अवस्था भएको उल्लेख गरे। भदौ २३ र २४ गते भएका घटनाकै कारण निर्धारित समयभन्दा दुई वर्षअघि निर्वाचन हुन लागेको भन्दै यस निर्वाचनलाई मुलुक कुन दिशातर्फ जाने हो  भन्ने विषयमा जनमत संग्रहसरहको रूपमा लिनुपर्ने धारणा राखे।

पोखरेलले ‘जनजी’ को नाममा चिनिएका नवयुवाहरूको भावना र आन्दोलनलाई अपहरण गरेर मुलुकलाई गम्भीर भूराजनीतिक चक्रव्यूहमा फसाउने षड्यन्त्रअन्तर्गत ती घटनाहरू गराइएको एमालेको ठहर रहेको बताए। उनले मुलुक प्रतिगमनतर्फ धकेलिएको, संविधान घायल बनाइएको र लोकतन्त्र कमजोर पारिएको जिकिर गर्दै निर्वाचनपछि पनि विदेशी योजनाअनुसारकै कठपुतली सरकार ल्याउने प्रयास भइरहेको दाबी गरे।

महासचिव पोखरेलले आगामी निर्वाचनमार्फत यस्ता षड्यन्त्रलाई असफल पार्दै राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न जनतालाई सचेत र एकताबद्ध हुन आह्वान गरे।