मुम्बई । नेपाली क्रिकेट टोलीले ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेबापत २ लाख ५६ हजार १५४ डलर पुरस्कार पाउने भएका छन्। समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले हराएको प्रदर्शनले नेपाललाई आधारभूत सहभागिता रकमभन्दा ३१ हजार डलर बढी पुरस्कार दिलाएको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले २० टोलीका खेलाडीलाई कुल १ करोड १२ लाख ५० हजार डलर पुरस्कार वितरण गर्ने घोषणा गरेको छ। प्रत्येक खेलको जित, समूहचरण, सुपर एट, सेमिफाइनल र फाइनलमा पुगेको आधारमा पुरस्कार रकम तोकिएको छ।
नेपालले तेस्रो पटक विश्वकप खेलेको क्रममा पहिलो तीन खेलमा इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग पराजित भए पनि अन्तिम खेलमा स्कटल्यान्डमाथि विजय हात पारेको थियो। यसरी नेपाल, इटाली, नेदरल्यान्ड्स र यूएईले समान २ लाख ५६ हजार १५४ डलर पाउने भएका छन्।
प्रतियोगितामा एउटै खेल जित्न नसकेको क्यानडा, नामिबिया र ओमानका खेलाडीले २ लाख २५ हजार डलर पुरस्कार पाउने छन्। यसैबीच, विश्वकपको उपाधि जितेको भारतीय टोलीले २६ लाख ३९ हजार ४२३ डलर पाउने छ। फाइनलमा हार्दै दोस्रो स्थानमा पुगेको न्युजिल्यान्डले १४ लाख २२ हजार ६९२ डलर पाउने छ।
सेमिफाइनल पुगेका दक्षिण अफ्रिका र इंग्ल्यान्डले क्रमशः १० लाख ५,५७७ र ९ लाख ७४,४२३ डलर पाउनेछन्। वेस्ट इन्डिज, पाकिस्तान र जिम्बावेले पनि फरक–फरक आधारमा पुरस्कार रकम पाउने छन्।
समूहचरणबाटै बाहिरिएका अस्ट्रेलिया, अफगानिस्तान र अमेरिकाका खेलाडीले समान ३ लाख ९,८०८ डलर, स्कटल्यान्डले २ लाख ७८,६५४ र आयरल्यान्डले २ लाख ७१,७३१ डलर पाउने व्यवस्था गरिएको छ। नेपालका लागि यो रकम टोलीको विश्वकपमा पाएको पहिलो खेल जितसँगै ऐतिहासिक उपलब्धि हो र आगामी प्रतियोगिताका लागि उत्साह र प्रेरणा थप्ने कुरा मानिएको छ।
