इटहरी। नेकपा (एमाले) ले पार्टीको नीति विपरीत गतिविधि गरेको आरोपमा सुनसरी जिल्ला कमिटी सदस्य तथा इटहरी उपमहानगरपालिका–१७ का वडाध्यक्ष प्रभात आचार्यलाई कारबाही गरेको छ।
आचार्यका छोरा आदित्य आचार्य सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय निर्माण दलको तर्फबाट उम्मेदवार बनेपछि पार्टीभित्र असन्तुष्टि बढेको थियो। सो विषयमा दुई पटकसम्म स्पष्टीकरण सोध्दा पनि चित्तबुझ्दो जवाफ नआएको र अटेर गरेको भन्दै पार्टीले कडा कदम चालेको जनाएको छ।
एमाले सुनसरीका कार्यवाहक अध्यक्ष पर्शुराम यादवले हस्ताक्षर गरेको पत्रमा पार्टी विधानको धारा ८ को उपधारा १ ९ख० बमोजिम आचार्यलाई जिल्ला कमिटी सदस्य र साधारण सदस्यता दुवैबाट हटाइएको उल्लेख गरिएको छ।
यसअघि नेकपा (माओवादी केन्द्र)बाट एमालेमा प्रवेश गरेका आचार्य २०७९ सालको स्थानीय तह निर्वाचनमा इटहरी–१७ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए। कारबाही सम्बन्धी पत्र कोशी प्रदेश कमिटी, विराटनगर, जिल्ला कमिटी संगठन विभाग तथा इटहरी उपमहानगर कमिटीलाई बोधार्थसहित पठाइएको जनाइएको छ।
