Politics

निर्वाचन सुरक्षाका लागि देशभर ७९ हजार सेना परिचालन

निर्वाचन सुरक्षाका लागि देशभर ७९ हजार सेना परिचालन

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आजदेखि देशभर ७९ हजार नेपाली सेना परिचालन गरिएको छ। नेपाल सरकारको निर्णयअनुसार निर्वाचन सुरक्षालाई थप मजबुत बनाउन सेनालाई मैदानमा उतारिएको हो।

ADVERTISEMENT

नेपाली सेनाका सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार आजैदेखि देशभरका विमानस्थल र कारागार कार्यालयको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ। ती स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका विशेष ड्युटी भने निरन्तर रहनेछन् भने बाँकी सुरक्षा व्यवस्थापन सेनाले सम्हाल्नेछ।  आजैदेखि देशभरिका विमानस्थल तथा कारागार कार्यालयको सुरक्षा व्यवस्थापन सेनाले गर्ने भएको छ । देशभरका प्रमुख सडकमा पनि सेनाले आजैदेखि गस्ती सुरु गरेको छ। विभिन्न स्थानमा सुरक्षा बेस स्थापना गरी पैदल गस्ती सञ्चालन गरिएको प्रवक्ता बस्नेतले जानकारी दिए।

मतदान केन्द्र र मतगणनास्थलको सुरक्षाका लागि भने केही समयपछि मात्र सेना परिचालन गरिनेछ। ती स्थानमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहने व्यवस्था गरिएको छ।

यसअघि मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। उक्त निर्णयलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेपछि आजदेखि सेना परिचालन गरिएको सेनाले जनाएको छ।