business

निर्वाचन लक्षित गर्दै एलपी ग्यास आयात बढाइयो

निर्वाचन लक्षित गर्दै एलपी ग्यास आयात बढाइयो

काठमाडौँ । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नेपाल आयल निगम ले देशभर खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाएको जनाएको छ। सम्भावित उच्च मागलाई सम्बोधन गर्न ग्यास आयातको परिमाण उल्लेख्य रूपमा बढाइएको निगमले जानकारी दिएको हो।

ADVERTISEMENT

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट का अनुसार भारतीय आयल कर्पोरेसनबाट यस वर्षकै सबैभन्दा बढी ग्यास मंगलबार नेपालतर्फ पठाइएको छ। सोही दिन विभिन्न डिपोबाट कुल १३८ बुलेट ग्यास लोड भएको निगमले जनाएको छ, जुन करिब १ लाख ७३ हजार ८०० सिलिण्डर बराबर हो।

निगमका अनुसार बरौनीबाट ३६, मथुराबाट ३६, पारादीपबाट ४०, दुर्गापुरबाट २४ र हल्दियाबाट २ बुलेट ग्यास नेपालका लागि प्रस्थान गरेका छन्।

निर्वाचन अवधिमा ग्यास अभाव हुन नदिन आपूर्ति व्यवस्थालाई नियमित र प्रभावकारी बनाइएको जनाउँदै कार्यकारी निर्देशक भट्टले उपभोक्तालाई ढुक्क रहन आग्रह गरेका छन्।