काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१, प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा सम्पूर्ण मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न निर्धक्क रूपमा मतदान गर्न आह्वान गर्नुभएको छ।

आयुक्त भण्डारीले निर्वाचनको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै मतदाताहरूलाई मतदानमा सहभागी हुन आग्रह गर्नुभएको हो। उहाँले यस आकस्मिक निर्वाचन गत भदौ २३ र २४ गते भएका नवयुवाहरूको विद्रोहपछि विकसित विषम परिस्थितिमा हुँदै गरेको भन्दै लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन सबैलाई आग्रह गर्नुभएको हो।
निर्वाचन सुरक्षित, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न हुने
भण्डारीले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग पूर्ण रूपमा तयार रहेको स्पष्ट पार्नुभयो। उहाँका अनुसार निर्वाचनमा मतदाता र मतदान नै सबैभन्दा महत्वपूर्ण पक्ष हुन्।
आयुक्त भण्डारीले भन्नुभयो, “निर्वाचनमा कुनै उम्मेदवार, व्यवस्था वा पक्षलाई चुन्ने मतदाताले दिने सहमति नै मतदान हो। मतदान मतदाताको नैसर्गिक अधिकार र कर्तव्य दुवै हो। प्रत्येक मत लोकतान्त्रिक व्यवस्थामा शासन, सरकार र नेतृत्वको स्वरूप निर्धारण गर्ने महत्वपूर्ण भूमिका खेल्छ।”
मतदान नागरिक सचेतना र सामाजिक जिम्मेवारीको अभिव्यक्ति
उहाँले मतदाताको सहभागितालाई राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी र नागरिक संलग्नताको उच्चतम अभिव्यक्ति भएको उल्लेख गर्दै भने, “जब नागरिकहरूले आफ्नो अधिकारप्रति सचेत भएर मतदान गर्छन्, तब मात्र शासनप्रतिको नागरिक अपनत्व बढ्छ। निर्वाचन आयोगले कुनै अवाञ्छित गतिविधिबाट प्रक्रिया प्रभावित नहुने सुनिश्चित गर्दै आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित वातावरण कायम गर्ने दृढ संकल्प गरेको छ।”
सहयोग र सरोकारवालाको भूमिका
निर्वाचन व्यवस्थापनमा राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चारकर्मी र आमसञ्चारमाध्यम लगायत सबै सरोकारवालाहरूको सहयोगले आयोगलाई थप ऊर्जा र हौसला दिएको उल्लेख गर्दै भण्डारीले धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले निर्वाचनलाई प्रतिनिधिमूलक शासन व्यवस्थाको आधार र जनताको अधिकारको वैधता प्रदान गर्ने महत्वपूर्ण अनुष्ठान भन्दै सम्पूर्ण मतदातालाई आ–आफ्नो मतदान केन्द्रमा उपस्थित भई निर्धक्क मतदान गर्न हार्दिक अनुरोध गर्नुभयो। यो निर्वाचनले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ र परिपक्व बनाउने विश्वास आयोगले व्यक्त गरेको छ।