Politics

निर्वाचनमा एसएसपीदेखि एआइजीसम्म अनुगमनमा खटिँदै, संवेदनशील क्षेत्रमा विशेष सुरक्षा तयारी

निर्वाचनमा एसएसपीदेखि एआइजीसम्म अनुगमनमा खटिँदै, संवेदनशील क्षेत्रमा विशेष सुरक्षा तयारी

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा संयन्त्र लागू गर्दै एसएसपीदेखि एआइजीसम्मका वरिष्ठ अधिकृतलाई अनुगमनमा खटाउने तयारी गरेको छ। प्रहरी प्रधान कार्यालयका अतिरिक्त महानिरीक्षक ९एआइजी० उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा अहिले केन्द्रीय निर्वाचन परिचालन सेल गठन गरिएको छ। उक्त सेलमा डिआइजी अरूण पौडेल, एसएसपी दयानिधि ज्ञवाली, एसएसपी दीपशम्शेर राणासहित ३१ जना अधिकारी छन्। साथै, सातवटा प्रदेशमा पनि छुट्टाछुटै निर्वाचन सुरक्षा सेल गठन गरिएको छ।

ADVERTISEMENT

सुरक्षा योजना अनुसार मधेस प्रदेशका सबै जिल्लालाई चुनौतीपूर्ण रूपमा विश्लेषण गरिएको छ। विशेष गरी सर्लाही क्षेत्र नम्बर ४ मा कांग्रेस सभापति गगनकुमार थापा र रास्वपाका नेता अमरेशकुमार सिंहको भिडभाड हुने भएकाले त्यहाँ विशेष सुरक्षा योजना लागू हुने प्रहरीको तयारी छ।

त्यस्तै, निर्वाचनको सर्वाधिक संवेदनशील केन्द्र झापा क्षेत्र नम्बर ५ पनि मानिएको छ। यहाँ एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहसहित विभिन्न दलका उम्मेदवार छन्। यसका साथै चितवन, पूर्वी रुकुम लगायतका स्थानमा पनि उच्च निगरानी राख्नुपर्ने प्रहरीले उल्लेख गरेको छ।

प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता डिआइजी अबिनारायण काफ्लेका अनुसार, “एसएसपी, डिआइजी र एआइजीहरू अनुगमनमा खटिनेछन्। संवेदनशील क्षेत्रका लागि कमाण्ड गर्ने, निर्देशन दिने, अलर्ट गर्ने जिम्मेवारी उनीहरूको हुनेछ। हेभिवेट उम्मेदवार रहने क्षेत्रहरूमा सुरक्षा सतर्कता, परिचालन, सूचना संकलन र नियन्त्रणको पूर्ण तयारी गरिनेछ। कुनै पनि ठाउँमा झडप हुन नदिनका लागि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्पष्ट निर्देशन दिइसकेका छन्।

नेपाल प्रहरीले देशका विभिन्न मतदानस्थलको विश्लेषण गर्दै संवेदनशील र अतिसंवेदनशील क्षेत्रको सूची तयार गरेको छ। झापामा ९५ मतदानस्थल अतिसंवेदनशील र १४७ संवेदनशील रहेको छ भने सर्लाहीमा १५८ अतिसंवेदनशील र १३१ संवेदनशील मतदानस्थल छन्। प्रहरीले संवेदनशील मतदानस्थलमा सुरक्षा जाँच, सवारी र स्ट्राइकिङ्ग फोर्स परिचालन, सुरक्षा बेस स्थापना तथा आवश्यक निर्देशनको व्यवस्था गरिसकेको छ। यसरी उच्च सतर्कता र व्यापक अनुगमनमार्फत आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन पूर्ण तयारी भैरहेको छ।