Entertainment

निर्वाचनपछि फिल्म उद्योग फेरि ‘एक्सन–कट’मा

निर्वाचनपछि फिल्म उद्योग फेरि ‘एक्सन–कट’मा

काठमाडौँ । देशमा भएको निर्वाचनका कारण केही दिन रोकिएका नेपाली फिल्महरूको छायाङ्कन पुनः सुरु हुन थालेको छ। विभिन्न फिल्म युनिटले मतदानका लागि काम रोकेपछि अहिले धमाधम सुटिङमा फर्किएका छन्, भने केही फिल्मको छायाङ्कन सुरु हुने तयारीमा छ।

ADVERTISEMENT

यसैबीच अभिनेत्री तथा निर्देशक रेखा थापा करिब आठ वर्षपछि निर्देशनमा फर्किएकी छन्। उनले फिल्म माया भनेकै यस्तो होला को छायाङ्कन काठमाडौँको शिवपुरीस्थित रोयल ट्युलिप नेसनल पार्कबाट सुरु गरेकी हुन्। यस फिल्ममा उनी पर्दा अगाडि नदेखिने र निर्देशनमै केन्द्रित रहने बताएकी छन्।

निर्वाचनका कारण रोकिएको कमला मिस को छायाङ्कन पनि सम्पन्न भएको छ। वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह ले निर्देशन गरेको यो फिल्मको सुटिङ मंगलबार सकिएको हो।

त्यस्तै, कार्की साइँला को छायाङ्कन धनकुटामा पुनः सुरु भएको छ, जसमा जितु नेपाल मुख्य भूमिकामा छन्। चुनावका कारण केही दिन रोकिएको सुटिङ फेरि सुरु गरिएको अभिनेता नेपालले बताएका छन्।

यसैगरी कस्तुरी को छायाङ्कन पनि सुरु भइसकेको छ, जसमा निखिल उप्रेती, वर्षा सिवाकोटी र निशा अधिकारी मुख्य भूमिकामा छन्। निर्वाचनका कारण केही समय रोकिए पनि अधिकांश फिल्म युनिटहरू अहिले पुनः काममा फर्किएका छन्, जसले नेपाली फिल्म क्षेत्र फेरि चलायमान भएको संकेत गरेको छ।