business

निर्वाचनका दिन पनि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान यथावत

निर्वाचनका दिन पनि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान यथावत

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै हवाई उडान यथावत सञ्चालन हुने भएका छन्। निर्वाचन आयोग ले निर्वाचन सुरक्षा तथा मतदान प्रक्रियामा सहजीकरण गर्न सम्बन्धित निकायसँग समन्वय गर्दै यस्तो निर्णय गरेको हो। आयोगले गृह मन्त्रालय लाई पत्र लेखी मतदानको दिन उडान सञ्चालनमा कुनै अवरोध नआउने वातावरण मिलाउन निर्देशन दिएको छ। निर्णयअनुसार सो दिन नियमित तालिकाअनुसार उडान सञ्चालन हुनेछ।

ADVERTISEMENT

साथै, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर वा बसोबास गर्ने होटलसम्म तथा त्यहाँबाट पुनः विमानस्थलसम्म आवतजावत गर्दा निजी सवारीसाधन वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाउन पनि आयोगले आग्रह गरेको छ।

यसअघि निर्वाचनका दिन आन्तरिक उडान स्थगित गर्ने प्रचलन रहेको थियो। सोही अभ्यासअनुसार नेपाल पर्यटन बोर्ड ले ट्राभल एडभाइजरी जारी गर्दै आएको थियो। तर यसपटक भने यात्रु सुविधालाई ध्यानमा राख्दै उडान सेवा निरन्तर राख्ने निर्णय गरिएको आयोगले जनाएको छ।