business

निमित्त प्रबन्ध निर्देशक नियुक्तिमा टेलिकमका दुई कर्मचारी संगठनको आपत्ति

निमित्त प्रबन्ध निर्देशक नियुक्तिमा टेलिकमका दुई कर्मचारी संगठनको आपत्ति

काठमाडौं  । नेपाल टेलिकमका दुई ठूला कर्मचारी संगठनहरूले निमित्त प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियाप्रति आपत्ति जनाएका छन्। नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रचलित विनियमावली र विधि विपरीत नियुक्ति गरिएको दाबी गरेका हुन्।

ADVERTISEMENT

कम्पनीकी निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधान उमेर हदका कारण माघ २१ गतेदेखि अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त भएको थियो। त्यसपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले माघ २३ गते अर्को एक कर्मचारीलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी तोकेको थियो।

कर्मचारी संगठनहरूले भने उक्त नियुक्ति नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी सेवा शर्त विनियमावली विपरीत भएको बताएका छन्। विज्ञप्तिअनुसार कुनै कार्यालय प्रमुखको पद रिक्त भएमा सोही कार्यालयको सबैभन्दा वरिष्ठ कर्मचारीले निमित्त भई काम गर्नुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै वरिष्ठतम कर्मचारीलाई पन्छाएर अर्कैलाई जिम्मेवारी दिइनु गलत नजिर हुने उनीहरूको भनाइ छ।

“यसले कम्पनीभित्र आन्तरिक व्यवस्थापनमा अराजकता निम्त्याउने तथा विधि र प्रक्रियामाथि प्रश्न उठाउने स्थिति सिर्जना गर्छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै, निर्वाचन आचारसंहिता लागू रहेको समयमा विगतको परम्परा र विनियमावली प्रतिकूल निर्णय गरिएको भन्दै संगठनहरूले कानुनी र नैतिक दुवै दृष्टिकोणबाट प्रश्न उठाएका छन्।

संयुक्त विज्ञप्तिमा नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका महासचिव गोविन्द ढुंगाना र नेपाल राष्ट्रिय कर्मचारी संगठनका सचिव वेदप्रसाद पौडेलको हस्ताक्षर रहेको छ।