धनकुटा । धनकुटामा पछिल्लो समय कुकुरको टोकाइका घटना बढ्दै जाँदा रेविजविरुद्धको खोप अभाव भएको छ। माघ महिनाका लागि पठाइएको २ सय डोज खोप सकिएको र नयाँ खोप हालसम्म नआएको धनकुटा अस्पतालका सूचना अधिकारी यज्ञमणि खतिवडाले जानकारी दिए।

उनका अनुसार खोपको कोर्स सुरु गरिसकेका बिरामीलाई पूरा गराउन केही डोज सुरक्षित राखिएको छ। तर नयाँ बिरामीका लागि खोप उपलब्ध गराउन नसकिने अवस्था रहेको उनले बताए। “दैनिक ८ देखि १० जनासम्म रेविजविरुद्धको खोपका लागि अस्पतालमा आउने गरेका छन्, तर अभावका कारण उपलब्ध गराउन सकिएको छैन,” खतिवडाले भने।
कुकुरको टोकाइबाट घाइते भई उपचारका लागि पुगेका धनकुटा–७ का जसमणि राईले सरकारी अस्पतालमा निःशुल्क पाइने खोप निजी मेडिकलबाट किन्नु परेको गुनासो गरे। “सरकारी अस्पतालमा पाइने खोप बाहिर किन्नुपर्दा खर्च बढ्यो,” उनले बताए।
कोशी प्रदेशका सरकारी अस्पतालमा रेविजविरुद्धको खोप कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत निःशुल्क उपलब्ध गराइँदै आएको छ। तर विराटनगरस्थित केन्द्रमै खोप अभाव भएपछि जिल्लामा आपूर्ति हुन नसकेको जनाइएको छ।
केन्द्रका निमित्त निर्देशक डा। सुरेश मेहताका अनुसार रेविज खोप संघीय सरकारमार्फत आउने भए पनि हालसम्म प्राप्त भएको छैन। “अन्य प्रदेशले आफैं खरिद गरेका छन्, तर कोशी प्रदेशले खरिद गरेको छैन। संघबाट पनि खोप आएको छैन। केन्द्रमा करिब २ सय डोज मात्र मौज्दात छ, जसलाई सम्भावित महामारीका लागि सुरक्षित राखिएको छ,” उनले बताए।
खोप अभावसँगै कुकुरको टोकाइका घटना बढेपछि सर्वसाधारण त्रसित बनेका छन्। स्थानीयले तत्काल खोप आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।