इटहरी | सुनसरीको दुहबी नगरपालिका–२ तुताहामा रहेको सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा सञ्चालित नवीन शिक्षा निकेतन आधारभूत विद्यालय मा जिल्ला स्तरीय प्रतिभा पहिचान तथा खेलकुद कार्यक्रम सम्पन्न भएको छ।

“समान अवसर, समान सम्मान, सबै क्षमताको पहिचान, समावेशी खेलकुदबाट उज्यालो भविष्य निर्माण– हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृत कुमार तामाङको सभापतित्व तथा दुहबी नगरपालिकाका नगरप्रमुख बेदनारायण गच्छदारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
बिहीबार बिहान सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक मनोज कार्कीले गर्नुभएको थियो। स्वागत मन्तव्य सुनसरी लेखाजोखा संयोजक सम्भु पोखरेलले राख्नुभएको थियो भने कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयका प्रधानाध्यापक सुरेन्द्र कुमार चौधरीले अपाङ्गता भएका विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
जिल्लाभरिका ८ वटा विद्यालयबाट सहभागिता रहेको उक्त कार्यक्रममा १२ वटा विभिन्न खेल विधा सञ्चालन गरिएका थिए। प्रतियोगितामा सहभागी १९३ जना विद्यार्थीमध्ये ५७ जना विद्यार्थी उत्कृष्ट घोषित भएका थिए। जसअनुसार १९ जना प्रथम, १९ जना द्वितीय र १९ जना तृतीय भएका थिए।
सहभागी सबै विद्यार्थीलाई सहभागिता मेडल प्रदान गरिएको थियो भने प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेहरूलाई पदक वितरण गरिएको थियो। सहभागी ८ वटै विद्यालयलाई सम्मानस्वरूप सिल्ड प्रदान गरिएको थियो भने अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समिति अध्यक्ष तथा पदाधिकारी, स्रोत शिक्षक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अन्य सरोकारवालासहित करिब ४०० जनाको उपस्थिति रहेको थियो। साथै ८० जना अतिथि तथा ७ जना विशिष्ट अतिथिको सहभागिता रहेको थियो।
प्रधानाध्यापक सुरेन्द्र कुमार चौधरीले सुस्त श्रवण तथा बहिरा विद्यार्थीहरूको प्रतिभा पहिचान गर्दै उनीहरूलाई खेलकुदमार्फत आत्मविश्वासी र आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख बेदनारायण गच्छदारले दुहबी नगरपालिका अपाङ्गमैत्री पालिका भएको उल्लेख गर्दै अपाङ्गता भएका विद्यार्थीहरूको हितमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमहरूले फरक क्षमता भएका विद्यार्थीहरूको प्रतिभा उजागर गर्नुका साथै उनीहरूको आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरूले सांगीतिक प्रस्तुति समेत दिएका थिए। फरक क्षमता भएका विद्यार्थीहरूलाई उनीहरूको क्षमताअनुसार विभिन्न खेल विधामा प्रतिस्पर्धा गराइएको थियो।
समावेशी शिक्षा र खेलकुदमार्फत सबै क्षमताको सम्मान र पहिचान गर्न कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा दुहबी नगरपालिकाकी उपप्रमुख मेनुका पोखरेल, शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीका इकाइ प्रमुख देवेन्द्र बहादुर मल्ल, दुहबी नगरपालिकाका शिक्षा शाखा प्रमुख विकास घिमिरे, महिला, बालबालिका तथा समावेशी शाखा प्रमुख युवन ओझा तथा सुनसरी लेखाजोखा संयोजक सम्भु पोखरेललगायतको विशिष्ट आतिथ्यता रहेको थियो।