काठमाडौँ । नेपाल र चीनबीचको पर्यटन तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले दुई दशकअघि सुरु गरिएको काठमाडौँ–ल्हासा सिधा बस सेवा पुनः सञ्चालनको तयारी अघि बढेको छ । हालै चीनमा सम्पन्न नेपाल–चीन वाणिज्य सचिवस्तरीय बैठकमा यो सेवा पुनः सञ्चालन गर्ने सहमति जुटेपछि बस सेवा ब्युँतिने आशा बढेको हो ।

माघ ६ र ७ गते अर्थात (जनवरी २० र २१, २०२६) चीनको सिजाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासामा सम्पन्न नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्र (नेपाल–चाइना कोअर्डिनेसन मेकानिजम अन बोर्डर ट्रेड एण्ड कोअपरेसन) को तेस्रो वाणिज्य सचिवस्तरीय बैठकमा काठमाडौँ–ल्हासा बस सेवा पुनः सञ्चालन गर्न दुई देशबीच सहमति भएको हो । बैठकमा द्विपक्षीय व्यापार, भन्सार सहजीकरण, पूर्वाधार विकासलगायतका विषयमा छलफल भएको थियो । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव डा. रामप्रसाद घिमिरेले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व सिजाङ जनसरकारका उपाध्यक्ष चाओ पेङले गरेका थिए ।
नेपाल र चीनबीच यातायात सम्झौता भएको ११ वर्षपछि २०६२ वैशाख १६ गते काठमाडौँ–ल्हासा बस सेवा औपचारिक रूपमा सुरु गरिएको थियो । दुई देशको सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिए पनि प्राविधिक र नीतिगत जटिलताका कारण यो सेवा करिब १० महिनामै बन्द भएको थियो । त्यसपछि २०६६ र २०७३ सालमा पनि सेवा पुनः सञ्चालनका प्रयास भए, तर ती योजना कार्यान्वयनमा आउन सकेनन् । हाल भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बस सेवा पुनः सञ्चालनका लागि सकारात्मक धारणा बनाएको जनाएको छ । मन्त्रालयका सहसचिव एवं विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख इन्जिनियर सुशीलबाबु ढकालले आवश्यक सुरक्षा र मापदण्ड पूरा गरेर सेवा सञ्चालन गर्न मन्त्रालय तयार रहेको बताए ।
‘काठमाडौँ–ल्हासा बस सेवा केवल यातायातको साधन मात्र होइन, यो नेपाल–चीन कनेक्टिभिटी, पर्यटन र व्यापारका लागि दिगो र महत्वपूर्ण हुनेछ,’ ढकालले भने । यातायात व्यवस्था विभागले पनि सरकारको औपचारिक निर्देशन प्राप्त भएपछि आवश्यक प्रक्रिया पूरा गर्ने तयारी अवस्थामा रहेको जनाएको छ । विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार सेवा प्रदायक कम्पनीहरूले प्रस्ताव पेस गरेपछि रुट परमिट जारी गर्न विभाग तयार छ । विभागका निर्देशक श्रीकान्त यादवलका अनुसार केही निजी सेवा प्रदायकहरूले छ महिनाअघि नै प्रस्ताव पेस गरिसकेको जानकारी दिए ।
किन बन्द भएको थियो काठमाडौँ–ल्हासा बस सेवा ?
यसअघि काठमाडौँ–ल्हासा बस सेवा बन्द हुनुमा प्राविधिक, नीतिगत, भू–राजनीतिक र व्यावहारिक कारणहरू जिम्मेवार रहेको विभागले जनाएको छ । चीन जान पासपोर्ट र भिसा अनिवार्य हुनु, टिकट काटिसकेपछि पनि भिसा सुनिश्चित नहुने समस्या, यात्रुहरूले समयमा भिसा नपाएर यात्रा रद्द गर्नुपर्ने अवस्था प्रमुख चुनौती बनेको थियो ।
सन् २००८ मा चीनमा बेइजिङ ओलम्पिक आयोजना हुँदा सुरक्षाका कारण बस सेवामा कडाइ गरिएको थियो । त्यस्तै, तिब्बत क्षेत्रको सुरक्षा संवेदनशीलतामा पनि सेवा अवरुद्ध हुने अर्को कारण बनेको थियो । भौगोलिक कठिनाइ र उच्च हिमाली क्षेत्रमा पुगेपछि ‘लेक लाग्ने’ समस्या (अल्टिच्युड सिक्नेस) ले यात्रुहरूको स्वास्थ्यमा असर पार्नु तथा सेवा सिजनल हुनुले पनि यात्रुको आकर्षण घटेको विभागको भनाइ छ । जाडोयाममा अत्यधिक चिसोका कारण यात्रु नपाउँदा सेवा प्रदायकलाई आर्थिक भार परेकाले सेवा निरन्तरता दिन कठिन भएको थियो।
तर, पछिल्लो पटक दुवै देशबीच उच्चस्तरीय सहमति जुटेकाले काठमाडौँ–ल्हासा बस सेवा पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ । यदि यो सेवा पुनः सुरु भयो भने नेपाल–चीन सम्बन्ध, पर्यटन विस्तार र सीमापार व्यापारमा नयाँ सम्भावना थपिने विश्वास गरिएको छ।