Global News

तेलको भाउ बढेपछि दक्षिण कोरियाले इन्धनमा मूल्य सीमा लागू गर्ने

तेलको भाउ बढेपछि दक्षिण कोरियाले इन्धनमा मूल्य सीमा लागू गर्ने

विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेपछि दक्षिण कोरियाले झन्डै ३० वर्षपछि पहिलोपटक इन्धनमा अधिकतम मूल्य सीमा (प्राइस क्याप) लागू गर्ने निर्णय गरेको छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघेपछि दक्षिण कोरियाले यस्तो निर्णय गरेको हो। सोमबार राष्ट्रपति ली जेय म्युङको अध्यक्षतामा बसेको आपत्कालीन बैठकले पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न अधिकतम मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो।

ADVERTISEMENT

राष्ट्रपति लीले बढ्दो तेल मूल्यका कारण ऊर्जा आयातमा निर्भर दक्षिण कोरियाको अर्थतन्त्रमा ठूलो दबाब परेको बताएका छन्। उनका अनुसार अत्यधिक बढेको पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारले कडा कदम चाल्न आवश्यक भएको हो।

दक्षिण कोरियाको उद्योग मन्त्रालयले यो साताभित्रै इन्धनको मूल्य सीमा लागू गर्ने तयारी गरिरहेको राष्ट्रपति कार्यालयका नीति प्रमुखले जानकारी दिएका छन्। दक्षिण कोरिया प्रमुख औद्योगिक अर्थतन्त्र, ठूलो निर्यातकर्ता र जी–२० समूहको महत्वपूर्ण सदस्य भएकाले यस्तो कदमलाई ठूलो नीतिगत निर्णयका रूपमा हेरिएको छ।

सरकारले तेल प्रशोधन कम्पनी तथा पेट्रोल पम्पहरूले कृत्रिम अभाव सिर्जना गरेर बजारमा मूल्य नियन्त्रण गर्न नपाउने गरी कडा निगरानी गर्ने जनाएको छ।

यसैबीच सरकारले हर्मुज जलडमरूमा बढ्दो अस्थिरतालाई ध्यानमा राख्दै वैकल्पिक मार्गमार्फत तेल आपूर्ति सुनिश्चित गर्न पनि निर्देशन दिएको छ। गत साता दक्षिण कोरियाले संयुक्त अरब इमिरेट्सबाट ६० लाख ब्यारेलभन्दा बढी कच्चा तेल आयात गर्ने सम्झौता गरेको थियो।

मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीचको तनावका कारण अन्तर्राष्ट्रिय तेल बजार प्रभावित भएको छ। आइतबार कच्चा तेलको मूल्य १०० डलर प्रति ब्यारेल नाघेको थियो, जुन सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि पहिलोपटक यस्तो स्तरमा पुगेको हो।

विश्लेषकहरूले मध्यपूर्वमा जारी तनाव लामो समयसम्म कायम रहे विश्व बजारमा कच्चा तेलको मूल्य २०० डलरसम्म पुग्न सक्ने चेतावनी दिएका छन्।