काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा तरलता बढी भएपछि नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ बजारबाट झिक्ने भएको छ।

राष्ट्र बैंकका अनुसार उक्त रकम २८ दिनका लागि संकलन गरिनेछ। निक्षेप संकलनमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइनमार्फत बोलकबोल गर्न सक्नेछन्।
यस बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ। यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न पनि सकिनेछ।
राष्ट्र बैंकले पछिल्ला तीन वर्षदेखि सातामा दुईपटक आइतबार र बुधबार नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको छ। तर गत साता निर्वाचनको बिदा परेकाले सो प्रक्रिया हुन सकेको थिएन। त्यसैले आज पुनः बजारबाट रकम संकलन गर्न लागेको राष्ट्र बैंकले जनाएको छ।
निक्षेप संकलनमा घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँका गुणकमा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहु–बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।