काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका दुई छोराले सङ्घीय सरकारविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्ति माग्दै मुद्दा दायर गरेका छन्। आफ्नो व्यवसाय र व्यक्तिगत कर भुक्तानीसम्बन्धी गोप्य डेटा चुहावट भएको आरोप लगाउँदै उनीहरूले मियामीस्थित सङ्घीय अदालतमा मुद्दा हालेका हुन्।

उक्त मुद्दा अमेरिकी आन्तरिक राजस्व सेवा (आईआरएस) र अर्थ मन्त्रालयविरुद्ध दायर गरिएको हो। मुद्दामा ट्रम्प, उनका छोराहरू डोनाल्ड ट्रम्प जूनियर र एरिक ट्रम्प तथा ट्रम्प अर्गनाइजेशनले सङ्घीय सरकारले गोप्य आर्थिक जानकारी सुरक्षित राख्न असफल भएको आरोप लगाएका छन्। मुद्दामा भनिएको छ, ‘आईआरएस र अमेरिकी अर्थ मन्त्रालयको कर्तव्य थियो कि करदाताको गोप्य तथा संवेदनशील जानकारीलाई सुरक्षित राखियोस्। तर आवश्यक सावधानी नअपनाउँदा हाम्रो व्यक्तिगत र व्यावसायिक प्रतिष्ठामा गम्भीर क्षति पुगेको छ।
यो मुद्दा आईआरएसका पूर्व ठेकेदार चाल्र्स ‘चाज’ लिटिलजोनसँग सम्बन्धित छ। लिटिलजोनले आईआरएसका लागि ठेकेदारको रूपमा काम गर्ने क्रममा ट्रम्पसहित हजारौँ धनाढ्य अमेरिकीहरूको करसम्बन्धी डेटा चोरी गरेको स्वीकार गरेका थिए। उनले सन् २०२३ मा दोष स्वीकार गरेपछि सन् २०२४ मा पाँच वर्षको जेल सजाय सुनाइएको थियो, जुन सजाय उनी हाल भोगिरहेका छन्।
लिटिलजोनले चोरेको करसम्बन्धी जानकारी अमेरिकी सञ्चारमाध्यम न्यूयोर्क टाइम्स र प्रोपब्लिकामा सार्वजनिक भएपछि ट्रम्पको कर भुक्तानीबारे व्यापक बहस सुरु भएको थियो। ती रिपोर्टहरूमा ट्रम्पले सन् २०१६ मा राष्ट्रपति निर्वाचन जितेको वर्ष सङ्घीय आयकरमा मात्र ७५० डलर तिरेको र अघिल्ला १५ वर्षमध्ये १० वर्ष कुनै पनि कर नतिरेको उल्लेख गरिएको थियो। ट्रम्पले २०१६ को निर्वाचनअघि आफू लेखापरीक्षण (अडिट) अन्तर्गत रहेकाले कर विवरण सार्वजनिक नगर्ने बताएका थिए। यसरी कर विवरण नखुलाउने उनी झन्डै पाँच दशकपछि पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए। उनले २०२० को राष्ट्रपति निर्वाचनअघि पनि यही तर्क दोहोर्याएका थिए।
तर सेप्टेम्बर २०२० मा, नोभेम्बरमा हुने निर्वाचनको ठीक अगाडि न्यूयोर्क टाइम्सले विस्तृत रिपोर्ट प्रकाशित गरेपछि कर विवरण सार्वजनिक बहसको विषय बनेको थियो। त्यसको दुई वर्षपछि, सन् २०२२ मा ट्रम्पले आफैं आफ्ना करसम्बन्धी कागजातहरू सार्वजनिक गरेका थिए। मुद्दामा ट्रम्प पक्षले गोप्य कर विवरण सार्वजनिक हुँदा आफूहरूले सार्वजनिक लज्जा भोग्नुपरेको, व्यावसायिक छवि धूमिल भएको र आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गरेका छन्। न्यूयोर्क टाइम्स र प्रोपब्लिकामा जानकारी चुहावट भएपछि आफूहरूको सार्वजनिक प्रतिष्ठामा गम्भीर नकारात्मक असर परेको दाबी पनि मुद्दामा गरिएको छ।
ट्रम्प र उनका छोराहरूले सङ्घीय सरकारको लापरवाहीकै कारण यस्तो गम्भीर डेटा चुहावट भएको भन्दै त्यसको क्षतिपूर्ति स्वरूप १० अर्ब डलर माग गरेका छन्। उक्त मुद्दाले अमेरिकी राजनीतिक र कानुनी वृत्तमा थप बहस र चासो पैदा गरेको छ।