Global News

ट्रम्पको पुनरागमनपछि अमेरिकी प्रविधिबाट टाढिँदै युरोपेली सङ्घ, ‘डिजिटल सार्वभौमिकता’तर्फ जोड

ट्रम्पको पुनरागमनपछि अमेरिकी प्रविधिबाट टाढिँदै युरोपेली सङ्घ, ‘डिजिटल सार्वभौमिकता’तर्फ जोड

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा फर्किनुअघिसम्म युरोपेली सङ्घ ९इयु० ले विदेशी शक्तिमाथिको आर्थिक निर्भरता घटाउने कुरा गर्दा मुख्य रूपमा चीनलाई लक्षित गरिँदै आएको थियो। तर ट्रम्पको पुनरागमनसँगै ब्रसेल्सको चिन्ता अब अमेरिकी प्रविधितर्फ केन्द्रित हुन थालेको छ। व्यापारमा दबाब सिर्जना गर्ने, सुरक्षा सम्झौता पुनरावलोकन गर्ने र ग्रिनल्यान्ड कब्जासम्मका धम्कीपूर्ण अभिव्यक्तिहरू बढ्दै गएपछि, चाहेको खण्डमा अमेरिकाले युरोपलाई डिजिटल रूपमा ठप्प पार्न सक्ने जोखिमबारे इयुमा गम्भीर छलफल सुरु भएको छ। यद्यपि पछि ट्रम्प ग्रिनल्यान्ड विषयमा पछि हटे पनि, यसले इयु कति भू–राजनीतिक झड्काप्रति असुरक्षित छ भन्ने कुरा स्पष्ट पारेको इयु अधिकारीहरू बताउँछन्।

ADVERTISEMENT

अमेरिकी प्रविधिमाथि गहिरो निर्भरता

सन् २०२३ को इयु प्रतिवेदनअनुसार २७ सदस्य राष्ट्र रहेको यो सङ्घ डिजिटल उत्पादन, सेवा, पूर्वाधार र बौद्धिक सम्पत्तिको ८० प्रतिशतभन्दा बढीका लागि विदेशी देशहरूमा निर्भर छ। यही निर्भरता घटाउने उद्देश्यले युरोपले पछिल्लो समय अमेरिकी प्रविधिमाथिको आश्रय क्रमशः कम गर्ने प्रयास थालेको देखिन्छ।

यसको पछिल्लो उदाहरण गत साता फ्रान्सबाट देखिएको हो। फ्रान्स सरकारले चाँडै सरकारी कर्मचारीलाई जुम वा माइक्रोसफ्ट टिम्सजस्ता अमेरिकी उपकरणको सट्टा स्वदेशी डिजिटल समाधान प्रयोग गर्न निर्देशन दिने तयारी गरिरहेको जनाएको छ।

प्रतिबन्धले देखाएको यथार्थ

ब्रसेल्सका लागि वास्तविक चेतावनी भने गत वर्ष आएको थियो, जब वासिङ्टनले अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० का न्यायाधीशहरूमाथि प्रतिबन्ध लगायो। यसका कारण ती न्यायाधीशहरू अमेजन र गुगलजस्ता अमेरिकी प्रविधि सेवाबाट वञ्चित भए। यस घटनाले युरोपेली जीवनशैली र संस्थागत कामकाजलाई आधार दिने धेरै डिजिटल उपकरणमाथि अमेरिकाको कति बलियो नियन्त्रण छ भन्ने उजागर गर्‍यो।

इयुकी प्रविधि आयुक्त हेन्ना भिर्कुनेनका अनुसार पछिल्लो एक वर्षमा अत्यन्त महत्त्वपूर्ण प्रविधिमा कुनै एक देश वा कम्पनीमाथि निर्भर नहुने आवश्यकता सबैले गम्भीर रूपमा महसुस गरेका छन्।
“यी निर्भरताहरू भविष्यमा राजनीतिक दबाबका हतियार बन्न सक्छन्,” उनले चेतावनी दिइन्।

‘टेक सार्वभौमिकता’ प्याकेजको तयारी

भिर्कुनेनले आगामी मार्चमा क्लाउड कम्प्युटिङ, कृत्रिम बौद्धिकता ९एआई० र चिप्स समेटिएको ‘टेक सार्वभौमिकता’ सम्बन्धी ठूलो नीति प्याकेज सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएकी छन्। यी क्षेत्रमै इयु बढी आत्मनिर्भर बन्न चाहन्छ। युरोपेली डिजिटल एसएमई एलायन्सका महासचिव सेबास्टियानो टोफालेट्टीका अनुसार डिजिटल प्रविधि अब तटस्थ उपकरण मात्र रहेन।
“क्लाउड, एआई र प्लेटफर्मजस्ता आधारभूत पूर्वाधार युरोपबाहिरबाट नियन्त्रण हुँदा नियम, डाटा र अन्ततः राजनीतिक दबाब पनि बाहिरकै हातमा पुग्छ,” उनले भने।

फ्रान्स र जर्मनी अग्रणी

सदस्य राष्ट्रहरूमध्ये फ्रान्स र जर्मनी यस अभियानमा अग्रणी देखिएका छन्। जर्मनीको उत्तरी राज्य श्लेसविग–होल्स्टाइनले गत वर्ष माइक्रोसफ्ट त्यागेर खुला स्रोत सफ्टवेयर अपनाउँदै डिजिटल सार्वभौमिकताको उदाहरण प्रस्तुत गरिसकेको छ। राज्यका डिजिटलकरण मन्त्री डिर्क श्रोएड्टरका अनुसार सुरुआतमा यो कदम आर्थिक कारणले चालिएको भए पनि अहिलेको राजनीतिक तनावले यसको महत्त्व झनै बढाएको छ।
छ महिनाभित्र राज्यले ४० हजारभन्दा बढी मेलबक्स माइक्रोसफ्ट एक्सचेन्ज र आउटलुकबाट ओपन–एक्सचेन्ज र थन्डरबर्डमा सारेको थियो। केही चुनौती आए पनि यसले डिजिटल स्वतन्त्रता सम्भव छ भन्ने सन्देश दिएको उनको भनाइ छ। यस्तै, युरोपेली संसद्ले पनि माइक्रोसफ्टलगायत अमेरिकी डिजिटल उपकरणमाथिको निर्भरता पुनरावलोकन गरिरहेको छ।

साझा युरोपेली डिजिटल पूर्वाधार

इयु स्तरमा पनि पहलहरू तीव्र बन्दै गएका छन्। फ्रान्सेली कम्पनी मिस्त्राल र जर्मनीको एसएपीले युरोपेली एआई–आधारित क्लाउड समाधानमा सहकार्य गर्ने सहमति गरेका छन्। फ्रान्स, जर्मनी, इटाली र नेदरल्यान्ड्सले आयोगको नेतृत्वमा साझा युरोपेली डिजिटल पूर्वाधार निर्माणका लागि संयुक्त प्रयास सुरु गरेका छन्। डिजिटल सार्वभौमिकताको दृष्टिले इयुका अन्य परियोजनाहरू पनि अघि बढिरहेका छन्। डिजिटल युरो विकासको काम तीव्र पारिएको छ, जसलाई थोमस पिकेट्टीसहित दर्जनौँ अर्थशास्त्रीहरूले युरोपेली सार्वभौमिकताको आवश्यक सुरक्षा भनेका छन्। यसअघि सन् २०२४ मा मास्टरकार्ड, भिसा र पेपलको विकल्पका रूपमा ‘वेरो’ नामक युरोपेली भुक्तानी प्रणाली सुरु भइसकेको छ।

रणनीतिमा स्पष्टता आवश्यक

तर ब्रसेल्सस्थित थिङ्कट्याङ्क सेर्रेका विश्लेषक जाक मेयर्सले प्रविधि सार्वभौमिकताको लक्ष्य स्पष्ट हुनुपर्ने चेतावनी दिएका छन्।
उनका अनुसार यदि उद्देश्य राजनीतिक दबाब झेल्ने हो भने केवल अमेरिकी प्रविधि प्रयोग घटाउनु भन्दा चिप निर्माण मेसिनरी, कर्पोरेट सफ्टवेयर र दूरसञ्चार उपकरणजस्ता क्षेत्रमा युरोपमाथि अमेरिकाको निर्भरता बढाउने रणनीति बढी प्रभावकारी हुन सक्छ।