सुनसरी । नेपाली क्रिकेट टोलीले आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकपमा तेस्रोपटक सहभागिता जनाउने भएको छ। यसका लागि नेपाल क्रिकेट संघ ९क्यान० ले १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ।

युवा र अनुभवी खेलाडीको सन्तुलित संयोजन रहेको टोलीमा सन् २०१४ को पहिलो टी–२० विश्वकप खेलेका सोमपाल कामी मात्र छन्। बाँकी खेलाडीमध्ये नौ जनाले दोस्रोपटक र पाँच जनाले पहिलोपटक विश्वकप खेल्ने अवसर पाएका छन्।
नेपालले समूह चरणका सबै खेलहरू मुम्बईस्थित वाङ्खडे स्टेडियममा खेल्नेछ। समूह चरणमा नेपालले इंग्ल्यान्ड, इटली, वेस्ट इन्डिज र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
दोस्रोपटक विश्वकप खेल्ने ९ खेलाडी
कप्तान रोहित पौडेलसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा र गुल्शन झा दोस्रोपटक टी–२० विश्वकप खेल्दै छन्। यी सबैले सन् २०२४ को विश्वकपमा नेपालका लागि प्रतिनिधित्व गरेका थिए।
पहिलोपटक विश्वकप खेल्ने ५ खेलाडी
शेर मल्ल, बसिर अहमद, आरिफ शेख, नन्दन यादव र लोकेश बमले पहिलोपटक टी–२० विश्वकप खेल्ने अवसर पाएका छन्। शेर मल्ल राष्ट्रिय टोलीमै नयाँ अनुहार हुन् भने अन्य खेलाडीहरूले पछिल्ला प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा टोलीमा स्थान बनाएका हुन्।
कप्तान रोहित पौडेल
२३ वर्षीय रोहित पौडेलले लगातार दोस्रोपटक नेपाली टोलीको कप्तानी गर्दै विश्वकप खेल्न लागेका छन्। उनी अलराउन्डर हुन् र दायाँहाते ब्याटिङ तथा पार्ट–टाइम स्पिन बलिङ गर्छन्।
रोहितले नेपालका लागि ७६ टी–२०आई खेलमा ८ अर्धशतकसहित १६३७ रन बनाएका छन् भने बलिङमा १३ विकेट लिएका छन्।
उपकप्तान दीपेन्द्रसिंह ऐरी
२६ वर्षीय दीपेन्द्र नेपालका स्टार अलराउन्डर हुन्। टी–२०आई वरियतामा दोस्रो स्थानसम्म पुगेका उनले ९० खेलमा १ शतक र १० अर्धशतकसहित १९५६ रन बनाएका छन्। बलिङतर्फ उनले ५८ विकेट लिएका छन्।
दीपेन्द्र टी–२०आईमा नेपालको सर्वाधिक रन बनाउने खेलाडी पनि हुन्।
अनुभवी सोमपाल कामी
सोमपाल कामी नेपालका लागि तीनवटै टी–२० विश्वकप खेल्ने एकमात्र खेलाडी हुन्। २९ वर्षीय पेस बलर सोमपालले ८६ टी–२०आई खेलमा ८१ विकेट लिएका छन्।
उनले २०१४ को पहिलो विश्वकपदेखि नेपाली टोलीको यात्रालाई नजिकबाट देख्दै आएका छन्।
अन्य प्रमुख खेलाडीहरू
कुशल भुर्तेल, आसिफ शेख, करण केसी र सन्दीप लामिछाने जस्ता अनुभवी खेलाडीहरूले टोलीलाई मजबुत बनाएका छन्।
गुल्शन झा, सन्दीप जोरा, ललित राजवंशीले अघिल्लो विश्वकपमा अनुभव बटुलेका थिए भने शेर मल्ल र बसिर अहमद जस्ता नयाँ खेलाडीले उत्साह थपेका छन्।
लक्ष्य सुपर–८
टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले यसपटकको विश्वकपमा सुपर–८ मा पुग्ने लक्ष्य रहेको बताएका छन्। कप्तान रोहित पौडेलले पनि शतप्रतिशत प्रदर्शन गर्दै नेपाली समर्थकलाई गौरवान्वित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपालको यो टोलीले अनुभव र युवाशक्तिको संयोजनमार्फत विश्वकपमा प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।