अस्ट्रेलियाले अन्य ढाँचाको तुलनामा टी–२० क्रिकेटलाई कम प्राथमिकता दिने गरेको आरोपलाई स्पिनर एडम जाम्पाले अस्वीकार गरेका छन्। विश्वकपबाट बाहिरिइसकेपछि अस्ट्रेलिया राष्ट्रिय क्रिकेट टोलीले ओमानलाई ९ विकेटले हराउँदै सान्त्वना जित निकालेको थियो। मिचेल मार्शको नेतृत्वमा रहेको टोली यसअघि श्रीलंका र जिम्बाबेसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। अन्तिम खेलमा अस्ट्रेलियाले ओमानलाई १०४ रनमा समेट्दै ९।४ ओभरमै लक्ष्य पूरा गरेको थियो।

प्रतियोगिताबाट बाहिरिएपछि अस्ट्रेलियाले टेस्ट र एकदिवसीयलाई बढी प्राथमिकता दिने गरेको भन्दै आलोचना भएको थियो। तर टेस्ट नखेलेका ह्वाइट–बल विशेषज्ञ जाम्पाले उक्त धारणा “पूर्ण रूपमा गलत” भएको बताए। प्रशिक्षक र स्टाफले टी–२० मा गर्ने मिहिनेत टेस्ट जत्तिकै, सम्भवतः अझ बढी नै हुन्छ। विश्वभर टी–२० र एकदिवसीयमा प्रतिस्पर्धा निकै कडा छ। हाम्रो तयारीमा कुनै कमी छैन,” उनले भने।
अस्ट्रेलियाले हालै एसेज सिरिज ४–१ ले जितेको थियो। २०१५ यता उसले एसेज गुमाएको छैन। ५० ओभरको विश्वकपमा अस्ट्रेलियाले ६ पटक उपाधि जितिसकेको छ भने टी–२० विश्वकपमा भने १० संस्करणमध्ये एक पटक मात्र जित हात पारेको छ।
यसपटकको प्रतियोगिताअघि तीव्र गतिका बलर प्याट कमिन्स र जोश हेजलवुड चोटका कारण बाहिरिएका थिए भने मिचेल स्टार्कले टी–२० बाट सन्न्यास लिएका थिए। समूह चरणभर टोलीको रणनीति अन्योलपूर्ण देखिएको थियो।
३३ वर्षीय जाम्पाले अस्ट्रेलियाली दर्शकले ह्वाइट–बल क्रिकेट कम हेर्न पाउने भएकाले तयारीबारे गलत बुझाइ हुनसक्ने बताए। “हामी गर्मीयाममा थोरै खेल खेल्छौं र धेरै तयारी विदेशमा हुन्छ। त्यसैले हामी कसरी तयारी गर्छौं भन्ने सबैले देख्न पाउँदैनन्,” उनले भने।
ओमानविरुद्ध चार विकेट लिए पनि जाम्पाले आफूभित्र खालीपन महसुस भएको बताएका छन्। “यो मेरो जीवनकै सबैभन्दा खराब अनुभूति भएको चार विकेट हो,” उनले प्रतिक्रिया दिए।