झापा। झापा–५ मा चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा बालेन्द्र ९बालेन० शाहले आफ्नो अभियान शैली परिवर्तन गरेका छन्। बालेन्द्र शाह यतिबेला वृद्धवृद्धा, असक्त, युवा, गरिब तथा सुकुमबासी समुदायसँग प्रत्यक्ष भेटघाटमा केन्द्रित देखिएका छन्। सार्वजनिक सभाभन्दा घरदैलो र प्रत्यक्ष संवादलाई प्राथमिकता दिन थालेपछि उनको अभियानले फरक रूप लिएको छ।

घरदैलोमा भावुक भेटघाट
हालै उनी आफ्नो निर्वाचन क्षेत्रका एक स्थानीय बासिन्दाको घरमा पुगे, जहाँ क्यान्सरबाट पीडित एक वृद्धसँग भेट गरे। उपचार खर्च जुटाउन खेतबारी बेच्नुपर्ने बाध्यता रहेको परिवारले सुनाएपछि शाहले स्वास्थ्य सेवा सर्वसुलभ नहुँदाको पीडा औंल्याएका थिए। “क्यान्सरको उपचारका लागि त खेतबारी नै बेच्नुपर्ने अवस्था रहेछ,” उनले भनेको प्रसंग त्यहाँ उपस्थितहरूका अनुसार अत्यन्त भावुक थियो।
त्यस्तै दमकमा शिवमाया नामकी वृद्धासँग भेट्दा उनले विदेशमा छोराको हत्या भएको र न्याय नपाएको भन्दै रुँदै गुहार मागिन्। शाहले उनको कुरा ध्यानपूर्वक सुने पनि तत्काल समाधान दिन नसक्ने अवस्थाले वातावरण केहीबेर स्तब्ध बनेको थियो।
भिडको दबाब र रणनीतिक परिवर्तन
घरदैलो अभियानका क्रममा शाह जहाँ पुग्छन्, त्यहाँ समर्थकको भीड लाग्ने गरेको छ। अँगालो हाल्ने, फोटो खिच्ने र भिडियो बनाउनेहरूको घुइँचोका कारण मतदातासँग गहिरो संवाद गर्न समय नपुग्ने समस्या देखिएको छ। उनका एक सहयोगीका अनुसार, “मतदाता भेट्न जाँदा फोटो खिचाउनेको भीडले घेरिन्छ, वास्तविक समस्या सुन्न समय नै अपुग हुन्छ।”
यही कारण उनले पछिल्लो समय पूर्वसूचना नदिई आकस्मिक भेटघाट कार्यक्रम राख्न थालेका छन्। मंगलबार बिहान उनले दमकको चिया बगान क्षेत्रस्थित सुकुमबासी बस्तीमा करिब एक घण्टा बिताए। पूर्वघोषणा नगरिएकाले त्यहाँ ठूलो भीड थिएन र स्थानीयसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने अवसर मिलेको थियो।
निकटस्थहरूका अनुसार, अत्यधिक भीडका कारण सुरक्षा चुनौतीसमेत देखिएको छ। “आफ्नै फ्यानले किचेर मार्लान् जस्तो हुन्छ,” भन्ने शाहको भनाइ उद्धृत गर्दै एक सदस्यले भीड व्यवस्थापन कठिन बन्दै गएको बताए।
छोटा भाषण, सन्देशमा जोड
शाहले सार्वजनिक सभामा लामो भाषण नगरी छोटो र सन्देशमुखी सम्बोधन गर्न थालेका छन्। माघ ५ गते जनकपुरमा आयोजित सभामा उनले करिब १० मिनेट बोलेका थिए। त्यसपछि समर्थकहरूले भाषण छोट्याउन सुझाव दिएको बताइएको छ।
एक महिनापछि धनगढीमा आयोजित सभामा उनले करिब तीन मिनेट मात्र बोले। “सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्यो। हामी भोट माग्न आएका होइनौं, काम माग्न आएका हौं,” भन्दै उनले छोटो तर सशक्त सन्देश दिएका थिए।
निकटस्थहरूका अनुसार लामो भाषणभन्दा प्रत्यक्ष संवाद प्रभावकारी हुने निष्कर्षसहित उनी अभियानलाई पुनः संरचना गरिरहेका छन्।
कडा प्रतिस्पर्धा
शाह राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता हुन्। उनी झापा–५ मा केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा छन्। देशको प्रमुख राजनीतिक व्यक्तित्वसँगको प्रतिस्पर्धाले चुनावी माहोल थप रोचक बनेको छ।
स्थानीय मतदाताले भूमिहीन तथा सुकुमबासी समस्या, शिक्षा, स्वास्थ्य सेवा, रोजगारी र सडक पूर्वाधारका विषयलाई प्राथमिकतामा राखेका छन्। शाहले यी मुद्दामा प्रत्यक्ष संवाद गर्दै समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन्।
संवादमै जोड
शाहका सहयोगीहरूका अनुसार उनी “सबै मतदाताको घरदैलोमा पुगेर प्रत्यक्ष कुरा गर्न पाए हुन्थ्यो” भन्ने चाहना राख्छन्। सार्वजनिक सभाहरू सकेपछि पुनः झापा–५ मै केन्द्रित भएर घरदैलो अभियानलाई अझ तीव्र बनाउने योजना रहेको बताइएको छ।
भीडको आकर्षण र प्रत्यक्ष संवादको चाहनाबीच सन्तुलन खोज्दै शाहको चुनावी अभियान अघि बढिरहेको छ। झापा–५ को चुनावी प्रतिस्पर्धा कडा बन्दै जाँदा उनको रणनीतिक परिवर्तनले कस्तो प्रभाव पार्छ भन्ने चासो बढ्दो छ।