झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ अन्तर्गत तीन मतदान केन्द्रको नेतृत्व महिलालाई सुम्पिएको छ। मुख्य निर्वाचन कार्यालय झापा का सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईका अनुसार भद्रपुर नगरपालिका–८ स्थित मेची रङ्गशालामा रहेका तीनै मतदान केन्द्रमा महिलालाई मतदान अधिकृतदेखि कर्मचारी र सुरक्षाकर्मीको जिम्मेवारी दिइएको हो।

मतदानस्थलको ‘क’ केन्द्रमा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरकी प्रमुख पुष्पलता उप्रेती मतदान अधिकृत र प्रतिक्षा घिमिरे सहायक मतदान अधिकृत रहेकी छन्। ‘ख’ केन्द्रमा विशेष नापी कार्यालय दमककी सृजना पन्त मतदान अधिकृत र जुनु पोखरेल सहायक मतदान अधिकृत तोकिएकी छन्। यस्तै ‘ग’ केन्द्रमा भद्रपुर नगरपालिकाकी गोमा दाहाल मतदान अधिकृत र प्रतिमा राई सहायक मतदान अधिकृतको जिम्मेवारीमा छन्।
यसैबीच, जिल्ला निर्वाचन कार्यालय झापा ले पाँचवटै निर्वाचन क्षेत्रका मतदान अधिकृतहरूलाई अभिमुखीकरण तालिम प्रदान गरिरहेको जनाएको छ। कार्यालय प्रमुख तुलसी नेपालका अनुसार झापामा सात लाख १३ हजार ५३७ मतदाता रहेका छन्। जिल्लाभर २८५ मतदानस्थलमा ८१५ मतदान केन्द्र कायम गरिएको छ भने ८१५ मतदान अधिकृतसहित कुल चार हजार ९३६ कर्मचारी खटाइएको छ।
निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन सबै मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र कर्मचारीहरू कार्यक्षेत्रमा खटिने क्रम सुरु भएको कार्यालयले जनाएको छ।