झापा । कोशी प्रदेश अन्तर्गतको झापा जिल्लाको कमल गाउँपालिका–६ चोमलुङ चोकमा भएको कुटपिट घटनापछि स्थानीयवासी त्रासमा परेका छन्। गत बुधबार साँझ केपी शर्मा ओली सहभागी कार्यक्रमका क्रममा आएका युवाको समूहले पत्रकारमाथि आक्रमण गरेको आरोप लगाइएको छ।

प्रत्यक्षदर्शीका अनुसार सो साँझ तीन दर्जनभन्दा बढी सवारीसाधनमा आएका सयौं युवाहरू चोक क्षेत्रमा प्रवेश गरेका थिए। सो क्रममा चटपटे खाइरहेका केही स्थानीय युवतीसँग ‘भोट केमारु’ भन्दै नारा लगाइएको थियो। युवतीहरूले ‘घण्टी’ मा भोट हाल्ने बताएपछि विवाद चर्किएको स्थानीयको भनाइ छ।
विवाद बढ्दै जाँदा घटनास्थलमा भिडियो खिचिरहेका सञ्चारकर्मी अर्जुन आचार्यमाथि युवाको समूहले हातपात गरेको आरोप छ। प्रत्यक्षदर्शीहरूले ५–१० मिनेटसम्म कुटपिट भएको, मोबाइल खोस्ने र भिडियो डिलिट गर्न दबाब दिएको बताएका छन्। मोबाइल लक भएकाले डिलिट गर्न नसकेपछि पत्रकारलाई सडकमै कुटपिट गरिएको उनीहरूको दाबी छ।
चोकस्थित पसल सञ्चालक रिता धिमालले घटना सम्झिँदै आफूहरू अझै पनि डरमा बाँचिरहेको बताइन्। “हामी काम गर्ने मान्छे, भोलि के हुन्छ भन्ने त्रास छ,” उनले भनिन्। अर्की प्रत्यक्षदर्शी पुष्पा राईका अनुसार ६–७ जनाले घेरेर पत्रकारमाथि आक्रमण गरेका थिए।
स्थानीय विष्णु श्रेष्ठले मत माग्ने शैलीप्रति असन्तुष्टि जनाउँदै धम्कीपूर्ण व्यवहार अस्वीकार्य भएको बताए। धनु श्रेष्ठले मतदातामाथि दबाब र महिलामाथि दुर्व्यवहार भएको आरोप लगाइन्। महेन्द्र बस्नेतले गाउँमा असुरक्षाको भावना बढेको उल्लेख गर्दै स्वतन्त्र रूपमा मत हाल्ने अधिकारमाथि असर परेको टिप्पणी गरे।
यसैबीच, गौरीगञ्ज गाउँपालिकामा रिपोर्टिङका लागि पुगेका अन्य सञ्चारकर्मीमाथि पनि युथ भोलेन्टियर्सका कार्यकर्ताले हप्कीदप्की गरेको आरोप छ। एक सञ्चारकर्मीले नाम नखुलाउने सर्तमा आफूहरूमाथि पनि आक्रमणको प्रयास भएको बताए।
सुरक्षा स्रोतका अनुसार सम्भावित तनावलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाइएको छ। इलाका प्रहरी कार्यालय दमकका प्रमुख किशोर लम्सालले भने सुरक्षाको अवस्था मजबुत रहेको र मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने वातावरण सुनिश्चित गरिएको दाबी गरे। घटनामा संलग्न भनिएका व्यक्तिहरू खुला रूपमा हिँडिरहनु र पत्रकारको मोबाइल फिर्ता नभएको विषयले स्थानीय प्रशासनको भूमिकामाथि प्रश्न उठेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।