वासिङ्टन डीसी । अमेरिकी यौन दुराचारी जेफ्री एपस्टिनकी निकट सहयोगी तथा पूर्व प्रेमिका घिस्लेन म्याक्सवेलले अमेरिकी प्रतिनिधिसभाको निगरानी समितिसमक्ष बयान दिन अस्वीकार गरेकी छन्। म्याक्सवेलले आत्म–अपराधीकरणबाट जोगिन पाइने आफ्नो संवैधानिक अधिकार (पाँचौँ संशोधन) प्रयोग गर्दै प्रश्नहरूको जवाफ दिन मानेकी छैनन्। प्रतिनिधिसभाको समितिले उनलाई सोमबार बन्द कोठामा बयानका लागि बोलाएको थियो। तर म्याक्सवेलले बारम्बार भनिन्, “म मेरो पाँचौँ संशोधनअन्तर्गत मौन रहने अधिकार प्रयोग गर्छु। उनको बयानको क्रममा उनले जेल पोसाक लगाएकी थिइन्।

समितिका अध्यक्ष, रिपब्लिकन सांसद जेम्स कोमर, ले म्याक्सवेलको व्यवहारलाई “अत्यन्त निराशाजनक” भनेका छन्। उनले बताए, “हामीसँग उनी र एपस्टिनले गरेका अपराधबारे धेरै प्रश्नहरू थिए, साथै सम्भावित सहअपराधीहरूबारे पनि सोध्न चाहन्थ्यौँ।
म्याक्सवेल अहिले यौन तस्करीको अभियोगमा २० वर्षको जेल सजाय काटिरहेकी छिन्। उनी टेक्सासस्थित संघीय कारागारमा बन्दी छन्। उनलाई सन् २०२१ मा किशोरीहरूमाथि एपस्टिनले गरेको यौन शोषणमा सहयोग गरेको प्रमाणसहित दोषी ठहर गरिएको थियो।
उनकी वकिल डेभिड ओस्कार मार्कसले समितिलाई पठाएको पत्रमा भनेका छन्, “राष्ट्रपति डोनाल्ड ट्रम्पले क्षमादान दिएमा म्याक्सवेल पूर्ण र इमान्दार रूपमा बयान दिन तयार छिन्।” पत्रमा ट्रम्प र पूर्वराष्ट्रपति बिल क्लिन्टन दुवै निर्दोष रहेको पनि दाबी गरिएको छ। यो बयान यस्तो समयमा आउँदैछ जब अमेरिकी न्याय मन्त्रालयले एपस्टिनसँग सम्बन्धित लाखौँ आन्तरिक कागजात सार्वजनिक गरेको छ, जसले विश्वभर तरंग पैदा गरेको छ। ती फाइलहरूले ट्रम्प र क्लिन्टन दुवैले १९९० र २००० को दशकमा एपस्टिनसँग समय बिताएको देखाउँछन्, तर उनीहरूविरुद्ध कुनै आपराधिक आरोप प्रमाणित भएको छैन।
यो महिनाको अन्त्यमा बिल क्लिन्टन र पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन पनि समितिसमक्ष बयानका लागि उपस्थित हुने तय भएको छ। यसले अमेरिकी राजनीतिमा र उच्चस्तरीय न्यायिक प्रक्रियामा थप हलचल ल्याउने अपेक्षा गरिएको छ।