Politics

जेनजी आन्दोलनपछि संविधानभित्रै निकास दिलाउन आफूले भूमिका खेलेको ऋषि धमलाको दाबी

जेनजी आन्दोलनपछि संविधानभित्रै निकास दिलाउन आफूले भूमिका खेलेको ऋषि धमलाको दाबी

काठमाडौंमा आयोजित आम जनता पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा नेता ऋषि धमला ले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक अन्योल अन्त्य गर्न आफूले महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्।

ADVERTISEMENT

उनका अनुसार जेनजी आन्दोलनका कारण देश अस्थिर बनेको र कर्फ्यूको अवस्था सिर्जना भएको बेला संवादको पहल आफूले गरेका थिए। उनले जेनजी पक्षका प्रतिनिधि सुधन गुरुङसहित अन्य नेताहरूसँग करिब सात घण्टा लामो वार्ता गरेको बताए।

“देश अन्योलमा थियो। त्यसपछि मैले सुधन गुरुङलगायत जेनजीका नेताहरूलाई बोलाएँ र एकसाथ राखेर छलफल गरेँ,” उनले भने, “प्रधानसेनापति र राष्ट्रपतिले पनि वार्तामा बोलाउनुभएको थियो। मैले संविधान र लोकतन्त्र जोगाएर मध्यमार्गी सहमति गर्न सुझाव दिएँ।”

धमलाले आफूले अघि सारेको मध्यमार्गी धारकै आधारमा सहमति बनेको र त्यसपछि राजनीतिक निकास सम्भव भएको जिकिर गरे। उनले उक्त सहमतिपछि सुशीला कार्की प्रधानमन्त्री बनेको दाबी समेत गरे।

कार्यक्रममा उनले देशलाई संकटबाट जोगाउन संवाद र सहमतिमार्फत समाधान खोज्नुपर्नेमा जोड दिए। संविधानको परिधिभित्र रहेर निकास दिनु नै दीर्घकालीन स्थिरताको आधार भएको उनको भनाइ थियो।

उनको दाबीप्रति विभिन्न राजनीतिक वृत्तमा चासो र बहस सुरु भएको छ।