काठमाडौँ । काठमाडौँमा आयोजित कार्यक्रममा आहारविद् तथा योग प्रशिक्षक डा। राजु अधिकारी ले जिब्रोको स्वादभन्दा शरीरलाई स्वस्थ राख्ने खानामा ध्यान दिन आग्रह गरेका छन्। स्वादिष्ट भोजनभन्दा तन्दुरुस्त बनाउने खानेकुरा रोज्नु नै सबैको हितमा हुने उनले बताए।

राष्ट्रिय समाचार समिति ९रासस० को ६५औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘सन्तुलित भोजन, स्वस्थ जीवन’ विषयक कार्यक्रममा उनले सन्तुलित भोजन र स्वस्थ जीवनशैली अपनाउन सुझाव दिए। सकारात्मक भाव पैदा गर्ने खानामा जोड दिनुपर्ने उल्लेख गर्दै उनले खानाप्रतिको दृष्टिकोण परिवर्तन आवश्यक रहेको बताए।
“कम्तीमा दैनिक सात हजार पाइला हिँड्नुपर्छ। पत्रु खाना मात्र होइन, पत्रु जीवनशैली नै त्याग्नुपर्छ। ध्यान र योग स्वास्थ्य जीवनका लागि अनिवार्य छन्,” उनले भने। विषादीयुक्त खानेकुरा र प्रदूषणले स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले सचेत बन्न उनले आग्रह गरे।
कार्यक्रममा विषादी र प्रदूषणका कारण आहार–विहार प्रभावित भइरहेको चर्चा गर्दै योग, नियमित व्यायाम र सकारात्मक सोच नै स्वास्थ्यकर जीवनशैलीको मूलमन्त्र भएको उल्लेख गरियो।