काठमाडौँ । आहारविद् तथा योग प्रशिक्षक डा.राजु अधिकारीले जिब्रोको स्वादभन्दा शरीरलाई स्वस्थ बनाउने खानामा ध्यान दिन सबैलाई आग्रह गरेका छन्। स्वादिष्ट भोजनको आकर्षणभन्दा पनि शरीरलाई तन्दुरुस्त र ऊर्जावान बनाउने सन्तुलित आहारमा जोड दिनु नै दीर्घकालीन हित हुने उनले बताएका हुन्।

राष्ट्रिय समाचार समिति (रासस) को ६५ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रिय कर्मचारी सङ्घ, राससद्वारा केन्द्रीय कार्यालयमा आयोजित ‘सन्तुलित भोजन, स्वास्थ्य जीवन’ विषयक कार्यक्रममा बोल्दै डा.अधिकारीले स्वस्थ रहन सन्तुलित भोजन र अनुशासित जीवनशैली अपनाउनु अनिवार्य रहेको बताए।
उनले खानाप्रतिको दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिँदै सकारात्मक ऊर्जा र भाव पैदा गर्ने खाद्यवस्तुको सेवन गर्न सुझाव दिए। “कम्तीमा दैनिक सात हजार पाइला हिँड्न आवश्यक छ। पत्रु खाना मात्र होइन, पत्रु जीवनशैली नै त्याग्नुपर्छ,” उनले भने, “ध्यान र योग स्वास्थ्य जीवनशैलीका लागि अत्यावश्यक छन्। विषादीजन्य खानेकुराले पार्ने नकारात्मक असरबारे सबै सचेत बन्नुपर्छ।”
कार्यक्रममा विषादी र बढ्दो प्रदूषणले आहार–विहारमा पारिरहेको असरबारे पनि चर्चा गरिएको थियो। सहभागीहरूले योग, नियमित व्यायाम र सकारात्मक सोच नै स्वस्थ जीवनको मूलमन्त्र भएको निष्कर्ष निकालेका थिए।
सञ्चारकर्मीका लागि ‘स्वजागरण’ कार्यक्रम
वार्षिकोत्सवकै अवसरमा रासस कर्मचारी युनियनले सञ्चारकर्मीका लागि ‘स्वजागरण’ कार्यक्रमसमेत आयोजना गरेको थियो। कार्यक्रममा जीवविज्ञान प्रशिक्षक डा आरती रेग्मी र कलाकार निर्मला खड्काले स्वजागरण तथा ध्यानका विषयमा प्रस्तुतीकरण गर्दै अभ्यास गराएका थिए।
कार्यक्रमले सञ्चारकर्मीलाई व्यस्त कार्यतालिकाबीच पनि शारीरिक तथा मानसिक स्वास्थ्यप्रति सचेत रहन प्रेरित गरेको आयोजकले जनाएको छ।