Entertainment

च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवी मन्दिर संरक्षणमा सहयोग जुट्दै

च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवी मन्दिर संरक्षणमा सहयोग जुट्दै

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकामा अवस्थित पर्यटकीय तथा धार्मिक महत्व बोकेको च्याङ्ग्रे पोखरी र सोही परिसरमा रहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वको पञ्चकन्या देवी मन्दिरको संरक्षण, विकास तथा पुनर्निर्माणका लागि सहयोग जुट्न थालेको छ।

ADVERTISEMENT

स्थानीय तह, धार्मिक अभियन्ता तथा सर्वसाधारणको सक्रियतामा मन्दिर पुनर्निर्माण र पोखरी क्षेत्रको सौन्दर्यीकरणका लागि अभियान सञ्चालन गरिएको हो। सोही अभियानअन्तर्गत पञ्चकन्या देवी मन्दिर पुनर्निर्माणका लागि सहयोग आह्वान गरिँदै आएको हो।

पञ्चकन्या मन्दिर पुनर्निर्माण अभियानलाई समर्थन गर्दै ललितपुरको धापाखेलस्थित जेम्स स्कुलका संस्थापक राजेश खड्काले पाँच लाख रुपैयाँ नगद सहयोग प्रदान गरेका छन्। उक्त सहयोग प्राप्त भएको जानकारी मन्दिर संरक्षण तथा पुनर्निर्माण समितिका अध्यक्ष किरण राईले दिए।

अध्यक्ष राईका अनुसार धार्मिक आस्था, ऐतिहासिक पहिचान र स्थानीय पर्यटन प्रवर्द्धनका दृष्टिले महत्वपूर्ण मानिने पञ्चकन्या देवी मन्दिरको पुनर्निर्माणका लागि प्राप्त सहयोगले अभियानलाई थप उत्साह प्रदान गरेको छ। उनले सहयोगी दाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा गरिएको बताए।

यसैगरी, च्याङ्ग्रे पोखरी परिसरको व्यवस्थापन तथा पर्यटकलाई सहज बनाउने उद्देश्यले ५० थान ‘आराम बेञ्च’ स्थापना गर्न सामाजिक सञ्जालमार्फत सहयोगको आह्वान गरिएको थियो। उक्त आह्वानपछि एक हप्ताभित्रै आवश्यक सहयोग संकलन भई लक्ष्य पूरा भएको अध्यक्ष राईले जानकारी दिए।पञ्चकन्या मन्दिर र च्याङ्ग्रे पोखरी पुनर्निर्माणका निम्ति रकम जुट्दै -  Newskarobar

स्थानीयवासीका अनुसार च्याङ्ग्रे पोखरी प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो भने पञ्चकन्या देवी मन्दिर धार्मिक आस्थाको केन्द्रका रूपमा चिनिँदै आएको छ। संरक्षण र पूर्वाधार विकासपछि यो क्षेत्र धार्मिक पर्यटनसँगै आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

स्थानीय तह, विभिन्न संघसंस्था तथा दाताहरूको सहकार्यमा संरक्षण र विकासका कामलाई निरन्तरता दिइने जनाइएको छ। स्थानीयले यस अभियानले गाउँपालिकाको पहिचान मजबुत बनाउने र धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।