काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च ९ लाख ८९ हजार ९८७ रुपैयाँ रहेको विवरण सार्वजनिक गरेका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन–२ बाट विजयी भएका लामिछानेले मंगलबार निर्वाचन आयोग नेपाल को कार्यालयमा चुनावी खर्च विवरण बुझाएका थिए। आयोगले बुधबार उक्त खर्च विवरण सार्वजनिक गरेको हो।
सार्वजनिक विवरण अनुसार लामिछानेको चुनावी अभियानमा सबैभन्दा बढी खर्च यातायात र इन्धनमा भएको छ। यातायात तथा इन्धनतर्फ २ लाख ९५ हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ।
त्यसैगरी खाद्यान्न तथा रासनमा १ लाख ९६ हजार रुपैयाँ खर्च भएको छ भने गोष्ठी तथा चुनावी भेलामा १ लाख ८० हजार रुपैयाँ खर्च गरिएको विवरणमा जनाइएको छ।
निर्वाचन आयोगमा बुझाइएको विवरणमा चुनावी प्रचार–प्रसारका अन्य शीर्षकहरूमा पनि खर्च गरिएको उल्लेख गरिएको छ। आयोगको नियमअनुसार उम्मेदवारहरूले निर्वाचनपछि आफ्नो सम्पूर्ण चुनावी खर्च विवरण आयोगमा पेस गर्नुपर्ने व्यवस्था रहेको छ।