अमेरिकाको बेलर विश्वविद्यालयको अध्ययन अनुसार तयारी चाउचाउको नियमित सेवन महिलामा कार्डियो मेटाबोलिक सिन्ड्रोम, हृदयाघात र मधुमेहको जोखिम दुई गुणा बढी हुन सक्छ। अनुसन्धानले चाउचाउमा प्रयोग हुने रसायन र उच्च बोसोले स्वास्थ्यमा नकारात्मक असर पुर्याउने देखाएको छ।
डाक्टर ह्युन जून शिनको नेतृत्वमा गरिएको अध्ययनमा १९ देखि ६४ वर्ष उमेर समूहका १०,७११ जनाको भोजन विश्लेषण गरिएको थियो। यसमा ५४.५ प्रतिशत महिला सहभागी थिए। अनुसन्धानले देखाएको छ कि परम्परागत भोजन शैलीभन्दा फास्टफूड र तयारी चाउचाउमा आधारित भोजन सेवन गर्ने महिलामा कार्डियो मेटाबोलिक सिन्ड्रोमको जोखिम दुई गुणा बढी हुन्छ।

चाउचाउमा प्रयोग हुने स्टाइरोफोम प्याकेजिङमा रहेको हर्मोन डिस्रप्टर बिस्फेनोल ए (BPA), मोनो सोडियम ग्लुटामेट, संतृप्त बोसो, सोडियम र टर्सियरी ब्युटाइलहाइड्रोक्विनोन (TBHQ) जस्ता रसायन महिलाको स्वास्थ्यका लागि हानिकारक ठहरिएको छ। यी तत्वहरूले पाचन प्रणाली असन्तुलित पार्ने, कलेजोमा दबाब बढाउने र मुटु तथा रक्तप्रणालीमा नकारात्मक असर पुर्याउने वैज्ञानिकहरूले बताएका छन्।
जर्नल अफ न्यूट्रिशनका अनुसार, हप्तामा २–३ पटकभन्दा बढी चाउचाउ सेवन गर्ने महिलामा मेटाबोलिक सिन्ड्रोमको जोखिम बढी देखिएको छ। नियमित अत्यधिक सेवनले पेटसँग सम्बन्धित समस्या, हृदय रोग, मधुमेह र अन्य स्वास्थ्य चुनौती निम्त्याउन सक्छ।
विशेषज्ञहरूको सल्लाह अनुसार, चाउचाउ पूर्ण रूपमा बन्द गर्नुपर्ने होइन, तर अति आवश्यक र हतारका बेला मात्र सीमित रूपमा सेवन गर्नु स्वास्थ्यका लागि सुरक्षित मानिन्छ। नियमित र सन्तुलित भोजन तथा पाचन प्रक्रियामा ध्यान दिनु महत्वपूर्ण छ।