काठमाडौं। चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ। काठमाडौंस्थित ग्राण्डी अस्पतालले आज जारी गरेको विज्ञप्तिअनुसार सिटौलाको आज दिउँसो १२स्४५ बजे उपचारका क्रममा निधन भएको हो। अस्पतालका अनुसार अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचार कार्यक्रममा सहभागी भइरहेका बेला सिटौला एक्कासी बेहोस भएका थिए। अवस्था गम्भीर बनेपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याई ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालले जारी गरेको आधिकारिक विज्ञप्तिमा उल्लेख गरिएको छ,
“गम्भीर इन्टेन्सिभ केयरका बाबजुद ४८ घण्टापछि पनि बिरामीको न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखिएन। मस्तिष्कको कार्यक्षमता पुनः प्राप्तिको कुनै संकेत थिएन। बिरामीको अवस्थाबारे परिवारलाई विस्तृत रूपमा परामर्श दिइयो। चिकित्सकीय प्रोटोकल अनुसार मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न एप्निया परीक्षण गरिएको थियो, जुन पोजेटिभ आएको हो। यसले स्वतः श्वासप्रश्वास नभएको जनाउँछ। त्यसैअनुसार आज दिउँसो १२स्४५ बजे उहाँको निधन भएको जानकारी गराउँछौं।”
अस्पतालका चिकित्सकहरूका अनुसार सिटौलालाई सब–अरैक्नोइड हेमरेज भएको थियो, जुन मस्तिष्कमा हुने रक्तस्रावको अत्यन्तै गम्भीर र ज्यान जोखिममा पार्ने अवस्था मानिन्छ।
अस्पताल पुग्नुअघि ४५ मिनेटसम्म मुटुको चाल बन्द
उपचारमा संलग्न चिकित्सकका अनुसार सिटौला अस्पताल ल्याइनुअघि करिब ४५ मिनेटसम्म मुटुको चाल बन्द भएको थियो। त्यसपछि सीपीआर ९कार्डियोपल्मोनरी रिससिटेसन० मार्फत मुटुको चाल फर्काइए पनि यति लामो समयसम्म मस्तिष्कमा अक्सिजन नपुगेकाले मस्तिष्कमा गम्भीर क्षति पुगेको थियो। अस्पताल आइपुग्दा उनको चेतनास्तर अत्यन्तै न्यून रहेको र अवस्था निकै नाजुक रहेको चिकित्सकहरूले बताएका छन्। चिकित्सकका अनुसार यस्तो अवस्थामा उपचारपछि सुधार आउने सम्भावना सामान्यतया निकै न्यून हुन्छ।
सब–अरैक्नोइड हेमरेज मस्तिष्कको सतह र त्यसलाई ढाक्ने झिल्ली (अरैक्नोइड मेम्ब्रेन) बीचको स्थानमा अचानक रक्तस्राव हुनु हो। चिकित्सकहरूका अनुसार यो ब्रेन हेमरेजको सबैभन्दा खतरनाक प्रकारमध्ये एक हो, जसमा समयमै उपचार नपाए मृत्युदर अत्यन्तै उच्च हुन्छ।
यस रोगको प्रमुख कारणमध्ये एक मस्तिष्कको नसामा भएको एन्युरिज्म फुट्नु हो। एन्युरिज्म भनेको नसा अस्वाभाविक रूपमा फुल्नु हो, जुन धेरैजसो मानिसमा पहिलेदेखि नै हुन सक्छ तर कुनै लक्षण नदेखिने भएकाले समयमै पत्ता लगाउन कठिन हुन्छ।
अचानक अत्यधिक रक्तचाप बढ्नु, गम्भीर मानसिक तनाव, धूम्रपान, मदिरा सेवन वा अत्यधिक शारीरिक श्रमका कारण पनि एन्युरिज्म फुट्न सक्ने चिकित्सकहरूले बताएका छन्।
लक्षण र उपचार प्रक्रिया
सब–अरैक्नोइड हेमरेजका लक्षण प्रायः अचानक र तीव्र रूपमा देखिन्छन्। अत्यन्तै चर्को टाउको दुखाइ, वाकवाकी वा बान्ता, आँखा झिम्क्याउन गाह्रो हुनु, झट्का लाग्नु वा एक्कासी बेहोस हुनु यसको प्रमुख लक्षण हुन्। यही कारणले यसलाई ‘थन्डरक्ल्याप हेडेक’ अर्थात् चट्याङझैँ अचानक आउने टाउको दुखाइ पनि भनिन्छ।
चिकित्सकका अनुसार यो रोग प्रायः ६० वर्षभन्दा माथिका व्यक्तिमा बढी देखिन्छ, तर पछिल्लो समय कम उमेरका व्यक्तिमा पनि देखिन थालेको छ।
उपचारका लागि बिरामीलाई तुरुन्तै सघन उपचार कक्षमा राखी सीटी स्क्यान वा एमआरआईमार्फत रक्तस्रावको अवस्था पत्ता लगाइन्छ। एन्युरिज्म पुष्टि भएमा क्लिपिङ वा कोइलिङजस्ता जटिल शल्यक्रिया गर्नुपर्छ। तर प्रारम्भिक अवस्था अत्यन्तै गम्भीर भएकाले सबै अवस्थामा अपेक्षित सुधार आउँछ नै भन्ने हुँदैन।
शोकको लहर
चलचित्र पत्रकारिता क्षेत्रमा लामो समय योगदान दिएका दिनेश सिटौलाको निधनले पत्रकारिता र चलचित्र क्षेत्र शोकमा डुबेको छ। विभिन्न सञ्चारकर्मी, कलाकार तथा संघ–संस्थाले उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।