तेल अभिभ । इजरायलको सैन्य अदालतले गाजाका एक प्यालेस्टाइनी कैदीमाथि गम्भीर यौन दुर्व्यवहार गरेको आरोप लागेका पाँच सैनिकविरुद्धका सबै मुद्दा खारेज गरिदिएको छ। सन् २०२४ जुलाईमा सडे तेइमान सैन्य जेलमा भएको उक्त घटनामा संलग्न भनिएका सैनिकहरूलाई सैन्य कानुनका वरिष्ठ अधिकारीले सफाइ दिएका हुन्।
यो घटनाको एउटा भिडियो फुटेज सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय स्तरमै इजरायली सेनाको आलोचना भएको थियो। सिसीटिभी फुटेजमा सैनिकहरूले ती कैदीलाई घेरेर कुटपिट गरेको र यौनाङ्गमा धारिलो वस्तुले प्रहार गरेको देखिएको थियो, जसका कारण ती कैदीको आन्द्रामा गम्भीर चोट लागेको थियो र उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यो निर्णयको स्वागत गर्दै आफ्ना नायक योद्धाहरूलाई फसाउन खोजिएको भन्दै यसलाई झुटो आरोपको अन्त्य बताएका छन्। इजरायली सेनाले प्रमाणहरूको जटिलता र अनुसन्धानका क्रममा केही वरिष्ठ अधिकारीहरूको कमजोरीका कारण निष्पक्ष सुनुवाइ हुन नसक्ने भन्दै मुद्दा फिर्ता लिइएको तर्क गरेको छ। यसअघि यो घटनाको भिडियो चुहाएको आरोपमा इजरायलका प्रमुख सैन्य वकिलले राजीनामा समेत दिनुपरेको थियो।
यद्यपि, मानवअधिकारवादी संस्थाहरूले भने यो निर्णयलाई अपराधीलाई उन्मुक्ति दिने र इजरायली जेलमा हुने व्यवस्थित यातनालाई लुकाउने प्रयासका रूपमा लिएका छन्। इजरायलमा यातना विरुद्ध काम गर्ने संस्था पब्लिक कमिटी अगेन्स्ट टर्चरकी कार्यकारी निर्देशक सारी बासीले यो निर्णयले प्यालेस्टाइनी कैदीमाथि बलात्कार गर्ने अनुमति दिएको भन्दै आक्रोश व्यक्त गरिन्।
संयुक्त राष्ट्रसंघको यातना विरोधी समितिले पनि अक्टोबर ७ को आक्रमणपछि इजरायली जेलहरूमा प्यालेस्टाइनीहरूमाथि हुने दुर्व्यवहार र यातना झन् डरलाग्दो बनेको भन्दै गम्भीर चासो देखाएको छ।
