Sports

गम्भीर चोटसँग जुधिरहेकी सावित्रा ‘साम्बा’, शल्यक्रियाका लागि सहयोग अपिल

गम्भीर चोटसँग जुधिरहेकी सावित्रा ‘साम्बा’, शल्यक्रियाका लागि सहयोग अपिल

काठमाडौँ । सावित्रा भण्डारी ‘साम्बा’ नेपाली महिला फुटबल इतिहासकै उत्कृष्ट खेलाडीमध्ये एक मानिन्छिन्। हाल भने उनी गम्भीर घुँडाको चोटका कारण मैदान बाहिर छिन्। सामाजिक सञ्जालमार्फत उनले आफू शारीरिक र मानसिक रूपमा थकित भए पनि हार नस्वीकार्ने बताएकी छन्।

ADVERTISEMENT

महिला राष्ट्रिय टोलीकी कप्तानसमेत रहेकी सावित्रालाई घुँडाको एसीएल (ACL) र एमसीएल (MCL) मा गम्भीर चोट लागेको छ। यसअघि गरिएको एसीएल शल्यक्रियाबाट हालिएको ग्राफ्टसमेत प्रभावित भएपछि पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको उनले उल्लेख गरेकी छन्। शल्यक्रियाका लागि करिब ८० हजार अमेरिकी डलर आवश्यक पर्ने जनाउँदै उनले आर्थिक सहयोगको अपिल गरेकी छन्। उनी सात सातादेखि मैदान बाहिर छिन्।

अस्ट्रेलियाको ए–लिगमा Wellington Phoenix बाट खेल्ने क्रममा Brisbane Roar विरुद्धको खेलमा उनी घाइते भएकी थिइन्। यो उनको दोस्रो एसीएल चोट हो।

साम्बाले सामाजिक सञ्जालमा अखिल नेपाल फुटबल संघ Aspetar ले वाचा गरेको सहयोग नपाएको आरोप लगाएकी छन्। चोट लागेको तीन सातापछि क्लबको पहलमा शल्यक्रियाको मिति तय भए पनि एन्फाबाट प्रक्रिया अघि नबढेको र सम्पर्क गर्न कठिन भएको उनको गुनासो छ।

हाल उनको क्लबले न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गराउन तयार रहेको जनाएको छ। तर सावित्राको चाहना कतारस्थित ब्कउभतबच अस्पतालमा उपचार गराउने रहेको छ। क्लबबाट बिमामार्फत प्राप्त रकम निकासा हुने भए पनि शल्यक्रिया र ७–८ महिनाको पुनर्स्थापनाका लागि अपुग हुने भन्दै उनले समर्थकमाझ सहयोग मागेकी हुन्।

यसबीच एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै सावित्राको उपचारका लागि आवश्यक पहल भइरहेको जनाएको छ। उनी नेपाली फुटबलको गौरव र धरोहर भएको उल्लेख गर्दै कतार फुटबल संघसँग आवश्यक समन्वय गरिसकेको एन्फाको भनाइ छ। व्यावसायिक क्लब फुटबलमा खेलाडी घाइते भए उपचारको जिम्मेवारी सम्बन्धित क्लबकै हुने अन्तर्राष्ट्रिय प्रचलन रहेको एन्फाले स्पष्ट पारेको छ।

उपचारका लागि विभिन्न संघसंस्था, खेलाडी र समर्थकले ऐक्यबद्धता जनाउँदै आर्थिक सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन्। सबैको कामना सावित्रा चाँडै निको भई पुनः मैदानमा फर्कून् भन्ने रहेको छ।