पोखरा । गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ। पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा भएको फाइनल खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई एकतर्फी खेलमा ३१–१७ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो। फाइनलमा सुरुदेखि नै आक्रामक देखिएको एपीएफले आर्मीमाथि स्पष्ट दबाब कायम राख्दै सहज जित निकालेको थियो। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितापछि आयोजित यो ह्याण्डबलको सबैभन्दा ठूलो प्रतियोगिता मानिएको छ।

उपाधिसँगै एपीएफले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बनेको आर्मीले ५० हजार रुपैयाँमा चित्त बुझायो। प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ११–५ ले पराजित गर्दै ३० हजार रुपैयाँ जित्यो। चौथो स्थानमा रहेको गण्डकीले २० हजार रुपैयाँ प्राप्त गरेको छ।
शनिबार सम्पन्न सेमिफाइनलमा एपीएफले कोशी प्रदेशलाई २३–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। यस्तै आर्मीले गण्डकी प्रदेशलाई २१–१२ ले हराउँदै उपाधि भिडन्तमा प्रवेश गरेको थियो।
असार १२ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहेको थियो। आयोजक गण्डकी प्रदेशसहित बागमती, मधेश, लुम्बिनी र कर्णाली प्रदेशका टोलीहरू तथा विभागीय क्लब एपीएफ र आर्मीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिता लिगकम नकआउट प्रणालीमा सञ्चालन गरिएको थियो।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी दुर्गा बोहोरा सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। एपीएफकी संगीता चौधरी उत्कृष्ट गोलरक्षक र एपीएफकै शुशिल अधिकारी उत्कृष्ट प्रशिक्षक घोषित भए। प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धनमा आयोजना गरिएको प्रतियोगिताले महिला ह्याण्डबलको विकास र प्रतिस्पर्धात्मकता बढाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।