Politics

कोलकातामा नेपाली तेक्वान्दोको चमक: जैसीदेवल डोजाङका खेलाडीले जिते ११ पदक

कोलकातामा नेपाली तेक्वान्दोको चमक: जैसीदेवल डोजाङका खेलाडीले जिते ११ पदक

काठमाडौं । भारतको कोलकातामा सम्पन्न नवौं टीआईए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका जैसीदेवल तेक्वान्दो डोजाङका खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्। टोलीका खेलाडीहरूले ९ स्वर्ण, १ रजत र १ कांस्यसहित कुल ११ पदक जित्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रभावशाली प्रदर्शन देखाएका हुन्।

ADVERTISEMENT

डोजाङका प्रमुख तथा टोली प्रमुख राजेश प्रजापतिका अनुसार प्रतियोगिताको पुम्से विधामा रोजेन प्रजापति र मुविक्क्षा गजुरेलले स्वर्ण पदक जिते भने वितिशा तामाङले रजत पदक हात पारिन्।

त्यस्तै गेरोगी विधामा अभिमन्यु गजुरेल, वितिशा तामाङ, यमुना जर्घा मगर, अनमोल थापा मगर, सुप्रिया जोशी, राजीव गुरुङ र मुविक्क्षा गजुरेलले स्वर्ण पदक जिते। राहुलहाङ लिम्बूले भने कांस्य पदक प्राप्त गरे।

उक्त प्रतियोगितामा नेपाली टोलीका लागि अन्जित राई प्रशिक्षकको भूमिकामा रहेका थिए भने भरत कारन्जित र सञ्जयध्वज जोशी अफिसियलका रूपमा सहभागी भएका थिए।

भारतको कोलकातास्थित विश्व बंगला कन्भेन्सन सेन्टरमा डिसेम्बर २१ देखि २३ तारिखसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको तेक्वान्दो क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेका छन्।