business

कोइला अभावले सङ्कटमा टक्सारको परम्परागत धातु उद्योग

कोइला अभावले सङ्कटमा टक्सारको परम्परागत धातु उद्योग

भोजपुर । भोजपुर जिल्लाको ऐतिहासिक टक्सार बजार कुनै समय औद्योगिक, व्यापारिक तथा सांस्कृतिक गतिविधिको प्रमुख केन्द्रका रूपमा परिचित थियो। विशेषगरी कांस, तामा र पित्तलका भाँडाकुँडा तथा विभिन्न धातु सामग्री उत्पादनका कारण टक्सारले देशभर छुट्टै पहिचान बनाएको थियो। तर पछिल्लो समय कोइला अभाव, कच्चापदार्थको कमी, लागत वृद्धि र नयाँ पुस्ताको घट्दो आकर्षणका कारण यहाँको परम्परागत धातु उद्योग गम्भीर सङ्कटमा पर्दै गएको छ।

ADVERTISEMENT

पुस्तौँदेखि निरन्तर चल्दै आएको यो परम्परागत पेसा अहिले अस्तित्व जोगाउने सङ्घर्षमा रहेको स्थानीय कालीगढहरू बताउँछन्। धातु पगाल्न अनिवार्य रूपमा प्रयोग हुने कोइला सहज रूपमा नपाइँदा उद्योग सञ्चालन गर्नै कठिन बनेको उनीहरूको गुनासो छ। पञ्चायतकालदेखि बहुदलीय व्यवस्था स्थापनासम्म टक्सारमा सञ्चालनमा रहेका धातु उद्योगहरूले लाखौँ रुपैयाँ मूल्य बराबरका कांस, तामा र पित्तलका सामग्री उत्पादन गर्दै आएका थिए।

यहाँ उत्पादित कांसका भाँडाकुँडा तथा अन्य सामग्री भोजपुर जिल्लामात्र नभई तराईका विभिन्न सहरसम्म बिक्रीका लागि पुग्ने गर्थे। टक्सार बजारमा कालीगढहरूको चहलपहल, धातु पगाल्ने भट्टीको ताप र हथौडाको आवाजले बजार सधैँ जीवित देखिन्थ्यो। तर आवश्यक कोइला तथा अन्य कच्चापदार्थको अभाव, उत्पादन लागत बढ्नु र परम्परागत पेसाप्रति नयाँ पुस्ताको आकर्षण घट्दै जाँदा पछिल्लो समय टक्सार बजार क्रमशः सुनसान बन्दै गएको स्थानीयवासी विनोद ताम्राकारले बताए।

उनका, अनुसार यहाँका घरेलु उद्योग सञ्चालकहरूको सबैभन्दा ठूलो समस्या कोइला अभाव नै हो। उद्योग सञ्चालनका लागि आवश्यक कोइला बजारमा सहज रूपमा नपाइने भएपछि कतिपय कालीगढहरू आफैँले रुख काटेर कोइला बनाउन बाध्य छन्। “कांसको काम सुरु गरेदेखि अन्त्यसम्म कोइला अनिवार्य पर्छ,” उनले भने, “अहिले कोइला पाउन निकै कठिन छ। कोइलाको अभावकै कारण धेरै कालीगढ पेसा छाड्न बाध्य भएका छन्।”

दसकौँ वर्षअघि सयौँको सङ्ख्यामा सञ्चालनमा रहेका धातु उद्योगहरू अहिले घटेर जम्मा पाँच वटामा मात्र सीमित भएका छन्। कोइला मात्र होइन, मैनलगायत अन्य स्थानीय कच्चापदार्थ पनि सहज रूपमा नपाउँदा पेसा धान्न झनै कठिन बन्दै गएको अर्का स्थानीय सुरजबहादुर उदासले बताए। “कोइलाबिना कांसको काम सम्भव नै हुँदैन,” उनले भने, “कांस पगाल्न, मैन पगाल्न सबैमा कोइला चाहिन्छ। अहिलेको अवस्थामा कोइलाकै कारण पेसा जोगाउने कि छाड्ने भन्ने दोधारमा पुगेका छौँ।”

स्थानीयका अनुसार राणा तथा पञ्चायती शासनकालमा विशेष प्रसिद्धि कमाएको टक्सारको धातु उद्योगले ठूलो मात्रामा स्थानीय रोजगारी सिर्जना गर्नुका साथै क्षेत्रीय अर्थतन्त्रलाई चलायमान बनाएको थियो। यही उद्योगका कारण टक्सार बजार व्यापारिक केन्द्रका रूपमा स्थापित भएको थियो। तर पछिल्लो समय स्थानीयवासीको पलायन, कच्चापदार्थको अभाव, आधुनिक उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्नु र सरकारी सहयोगको कमीका कारण यो परम्परागत उद्योग क्रमशः धराशायी बन्दै गएको छ।

स्थानीयवासी तथा कालीगढहरूले टक्सारको ऐतिहासिक पहिचान जोगाउन सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताउँदै आएका छन्। उनीहरूका अनुसार कोइला आपूर्तिमा सहजीकरण, परम्परागत उद्योग प्रवर्द्धनका कार्यक्रम, कालीगढलाई लक्षित राहत तथा प्रोत्साहनका नीति अवलम्बन गरिए मात्र टक्सारको धातु उद्योग जोगिन सक्छ। नत्र पुस्तौँदेखिको सीप, संस्कृति र इतिहाससँग जोडिएको यो परम्परागत पेसा इतिहासमै सीमित हुने खतरा बढ्दै गएको छ।