संखुवासभा । संखुवासभाको उत्तरी सिमाना किमाथांका बस्ती सडक, बिजुली, बजार र सहज आवागमन जस्ता आधारभूत विकास सुविधाबाट अझै वञ्चित छ। स्थानीय बासिन्दा पासाङ भोटेका अनुसार, “उता तिब्बती सहर उज्यालो छ, सुविधा छ। हामी सोलारको मधुरो उज्यालोमा बस्छौँ। हामीलाई पनि त्यही विकास चाहिएको हो।”

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू किमाथांका जस्ता दुर्गम गाउँसम्म पुग्न सकेका छैनन्। बस्तीका ३ सय ८ मतदाता सडक नपुगेको ठाउँमा चुनावी एजेन्डा सुन्न अझै प्रतीक्षामा छन्। स्थानीय बासिन्दाले आधारभूत पूर्वाधार, बजार सुविधा, सीमामा सहज आवागमन र सामाजिक द्वन्द्वको समाधानलाई प्राथमिकता दिएका छन्। तर चुनाव नजिकिँदै गर्दा गाउँमा उम्मेदवारको प्रत्यक्ष उपस्थिति नहुँदा निराशा बढेको छ।
पासाङ भन्छन्, “सडक ल्याउँछौँ, बिजुली बत्ती बाल्छौँ भनेर भाषण हुन्छ, तर हामी कहिलेसम्म अन्धकारमै बस्नेरु हामी पनि सदरमुकाम खाँदबारीसम्म सहज रूपमा जान चाहन्छौँ। किमाथांका जस्तो दुर्गम बस्तीमा विकासको अभावले मतदातालाई मात्र होइन, लोकतन्त्रको आवाजलाई पनि कमजोर बनाएको छ। फागुन २१ को निर्वाचनले किमाथांकाको अँध्यारो हटाउने कि उस्तै छोड्ने, यो प्रश्न अहिले ३ सय ८ मतदाताको मनमा गहिरो छ।