business

कावा खोलामा पक्की पुल सञ्चालनमा, भोजपुरका तीन पालिकाका बासिन्दालाई राहत

कावा खोलामा पक्की पुल सञ्चालनमा, भोजपुरका तीन पालिकाका बासिन्दालाई राहत

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा पर्ने कावा खोलामा पक्की पुल निर्माण सम्पन्न भएसँगै स्थानीयवासीको वर्षौँ देखिको चिन्ता हटेको छ । बर्खायाम लाग्नेबित्तिकै खोलाको बहाव बढ्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य यहाँका बासिन्दा अब भने ढुक्क भएर आवतजावत गर्न पाउने भएका छन् ।

ADVERTISEMENT

कावा खोलामा रु.४ करोड ६२ लाख ७४ हजार ९१० रुपैयाँको लागतमा पक्की पुल निर्माण गरिएको हो । निर्माण कार्य सम्पन्न भएसँगै पुल सञ्चालनमा आइसकेको छ । पुल सञ्चालनमा आएपछि आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाका हजारौँ सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

स्टिल ट्रस ओपन फाउन्डेसन प्रविधिमा निर्माण गरिएको यो पुल एक स्पानको रहेको छ । पुलको लम्बाइ ४६ मिटर र चौडाइ ६ मिटर रहेको छ । साथै, पैदल यात्रुका लागि पुलको दुवैतर्फ १ दशमलव २० मिटर चौडा फुटपाथसमेत निर्माण गरिएको छ, जसले पैदलयात्रीको सुरक्षालाई थप सुनिश्चित गरेको छ ।

यसअघि कावा खोलामा पुल नहुँदा सदरमुकामतर्फ यात्रा गर्दा स्थानीयले ठूलो जोखिम मोल्नुपर्ने अवस्था थियो । खोलामा पानी बढेका बेला आवतजावत नै ठप्प हुने गरेको थियो भने बिरामी, विद्यार्थी र दैनिक कामकाजमा जाने सर्वसाधारणले निकै सास्ती खेप्दै आएका थिए ।

नयाँ पुलले हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङलाई जोडेको छ । यसले स्थानीय स्तरमा यातायात सहज हुनुका साथै व्यापार, शिक्षा, स्वास्थ्य र समग्र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

स्थानीयवासीले पुल निर्माण भएपछि जीवनस्तर सहज बनेको प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार अब बर्खायामको डर बिना सुरक्षित यात्रा गर्न पाइन्छ भनेर स्थानिय हर्षित भएका छन ।