Politics

कार्यसम्पादन मूल्यांकनमा बुटवल पहिलो, इटहरी अन्तिम

कार्यसम्पादन मूल्यांकनमा बुटवल पहिलो, इटहरी अन्तिम

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन नतिजाअनुसार देशभरका ११ उपमहानगरपालिकामध्ये बुटवल उपमहानगरपालिका सबैभन्दा अगाडि देखिएको छ। बुटवलले ६४.४४ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।

ADVERTISEMENT

यस्तै सबैभन्दा कम अंक प्राप्त गर्ने उपमहानगरका रूपमा इटहरी उपमहानगरपालिका रहेको छ। इटहरीले ३८.९६ अंक मात्र पाएको छ।

दाङका दुई उपमहानगरमध्ये तुल्सीपुर उपमहानगरपालिका ले ६१.५३ अंक प्राप्त गर्दै उच्च स्थान बनाएको छ भने घोराही उपमहानगरपालिका ले ६१.०८ अंक पाएको छ।

अन्य उपमहानगरपालिकाको नतिजा यसप्रकार रहेको छ
धनगढी उपमहानगरपालिका – ५६.६०
नेपालगञ्ज उपमहानगरपालिका – ५६.४५
हेटौंडा उपमहानगरपालिका – ५४.१३
जनकपुर उपमहानगरपालिका – ५१.५८
धरान उपमहानगरपालिका – ४९.७६
कलैया उपमहानगरपालिका – ४९.५७
जीतपुर–सिमरा उपमहानगरपालिका – ४८.३९

आयोगले स्थानीय तहको मूल्यांकन १७ वटा सूचकका आधारमा गरेको जनाएको छ। १० असारभित्र बजेट सार्वजनिक गरेरनगरेको, असार मसान्तभित्र बजेट पारित गरेरनगरेको, तथा आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर र विज्ञापन करबाट उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा दाखिला गरेरनगरेको विषयलाई प्रमुख सूचक बनाइएको थियो।

यसका साथै आगामी आर्थिक वर्षको बजेट प्रक्षेपणसहित विवरण अर्थ मन्त्रालयमा बुझाएरनबुझाएको, कात्तिक मसान्तभित्र बजेट समीक्षा सार्वजनिक गरेरनगरेको, राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु फर्छ्योट, सूत्र सफ्टवेयर प्रयोगलगायतका पक्षलाई समेत मूल्यांकनको आधार बनाइएको छ।

शिक्षा र स्वास्थ्यतर्फ विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, एसईई परीक्षा नतिजा, गर्भ जाँच गराउने महिलाको अनुपात तथा खोप लगाएका बालबालिकाको दरलाई पनि सूचकमा समेटिएको आयोगले जनाएको छ।

देशभरिका स्थानीय तहमध्ये ८० अंकभन्दा बढी ल्याउने भने चारवटा मात्र रहेका छन्, जसमा अधिकांश पश्चिम नेपालका स्थानीय तह रहेका छन्।