काभ्रेपलाञ्चोक । प्रतिनिधिसभा निर्वाचनमा काभ्रेपलाञ्चोकका दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका अधिकांश उम्मेदवारले न्यून मत पाएपछि ३७ जनाको जमानत जफत भएको छ। जिल्लाका दुई क्षेत्रमा कुल ४४ उम्मेदवार प्रतिस्पर्धामा रहेकामा १० प्रतिशतभन्दा कम सदर मत ल्याउने ३७ जनाको धरौटी जफत भएको हो।
निर्वाचन आयोगको प्रावधानअनुसार सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ। सोही प्रावधानअनुसार काभ्रे क्षेत्र नम्बर २ मा २४ उम्मेदवारमध्ये २१ जनाको जमानत जफत भएको छ।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका बदन भण्डारी ५३ हजार ३४४ मतसहित विजयी भए। नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत र नेकपा एमालेका अशोक व्याञ्जुले १३ हजार ९४० मत प्राप्त गरे। यी तीन उम्मेदवारबाहेक अधिकांश उम्मेदवारले जमानत जोगाउन सकेनन्।
काभ्रे–२ मा १ लाख ६५ हजार ५११ मतदाता रहेकामा १ लाख ४ हजार ६४२ मत खसेको थियो। त्यसमध्ये ९९ हजार ५८० मत सदर र ५ हजार ६२ मत बदर भएको थियो।
यस्तै काभ्रे क्षेत्र नम्बर १ मा १८ उम्मेदवारमध्ये १४ जनाको जमानत जफत भएको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका मधुकुमार चौलागाईं २९ हजार ६९८ मतसहित विजयी भएका छन्। नेपाली कांग्रेसका गुणराज मुक्तानले १९ हजार १६६, नेपाल कम्युनिष्ट पार्टीका दिनानाथ गौतमले १४ हजार १८४ र नेकपा एमालेका अमि तामाङले १३ हजार ८१४ मत प्राप्त गरेका छन्।
क्षेत्र नम्बर १ मा १ लाख ६१ हजार १०० मतदाता रहेकामा ९१ हजार १०१ मत खसेको थियो। त्यसमध्ये ८७ हजार १२४ मत सदर र ४ हजार ९७७ मत बदर भएको थियो। निर्वाचन परिणामअनुसार धेरै उम्मेदवारले सय मतसमेत कटाउन नसकेको देखिएको छ।
