काठमाडौं। पछिल्ला दिनहरूमा बढ्दै गएको वायु प्रदूषणका कारण काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा दोस्रो स्थानमा पुगेको छ। मंगलबार दिउँसो १ बजेको मापन अनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स(एक्यूआई) १९५ पुगेको छ, जुन जनस्वास्थ्यका दृष्टिले ‘अति अस्वस्थकर’ मानिन्छ।

वातावरण विभागका अनुसार काठमाडौं उपत्यकासहित विभिन्न सहरी क्षेत्रमा वायु प्रदूषणको स्तर खराब अवस्थामा पुगेको छ। हावाको बहाव कमजोर हुनु, वातावरण धुम्मिनु र प्रदूषित हावा बाहिरिन नसक्नुका कारण पछिल्लो एक सातादेखि उपत्यकाको वायु गुणस्तर झन् बिग्रिएको देखिएको छ। उपत्यकाभित्र सबैभन्दा बढी प्रदूषण लाजिम्पाट क्षेत्रमा देखिएको छ। त्यहाँको एयर क्वालिटी इन्डेक्स २२६ मापन गरिएको छ। यस्तै रानीबारी क्षेत्रमा एक्यूआई १९६ र क्षेत्रपाटीमा १८८ मापन गरिएको छ।
उपत्यका बाहिर भने मध्यपश्चिमको वीरेन्द्रनगरमा सबैभन्दा बढी वायु प्रदूषण देखिएको छ, जहाँ एक्यूआई २३२ पुगेको छ। सुदूरपश्चिमको धनगढीमा एक्यूआई २०९ मापन गरिएको छ।
स्विट्जरल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय संस्था आईक्यू एयरका अनुसार भारतको दिल्ली पनि प्रदूषित सहरहरूको सूचीमा उच्च स्थानमा रहेको छ, जहाँ एक्यूआई २४७ पुगेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्डअनुसार यस्ता स्तर ‘अति अस्वस्थकर’ श्रेणीमा पर्छन्।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलका अनुसार हावा कम चल्नु, अन्य देशबाट आएको प्रदूषण बाहिरिन नसक्नु र मौसमीय अवस्था प्रतिकूल हुनुका कारण प्रदूषण बढेको हो। उनका अनुसार मेघगर्जनसहित वर्षा सुरु भएमा वायुको गुणस्तरमा सुधार आउने सम्भावना रहेको छ।
नेपालमा हिउँदको समयमा सवारीसाधनबाट निस्कने धुँवा, इँटाभट्टा तथा उद्योगबाट हुने उत्सर्जन, भारतबाट आउने प्रदूषण र वनडढेलोका कारण वायु प्रदूषण झन् बढ्ने गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हावामा पीएम २.५ को मात्रा प्रतिघनमिटर ५० भन्दा कम भए मात्र स्वस्थकर मानिन्छ। तर नेपालमा यो मात्रा मापदण्डभन्दा झन्डै साढे आठ गुणा बढी पुगेको पाइएको छ।
एक तथ्यांकअनुसार सन् २०१९ मा नेपालमा वायु प्रदूषणसम्बन्धी रोगका कारण मात्रै वार्षिक करिब ४२ हजार जनाको ज्यान जाने गरेको उल्लेख गरिएको छ।