काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले निर्वाचन केन्द्रित सुरक्षा रणनीति अनुसार गस्ती तथा निगरानी गतिविधि तीव्र बनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार निर्वाचनलाई सुरक्षित, शान्त र निष्पक्ष बनाउन एकीकृत सुरक्षा गस्ती सुरु गरिएको छ। हाल काठमाडौंका विभिन्न स्थानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती सञ्चालनमा छ। सुरक्षा सतर्कता बढाउने क्रममा होटल तथा लजहरूमा ‘डग स्नीफिङ’सहितको सुरक्षा जाँच सुरु गरिएको छ भने विभिन्न स्थानमा आकस्मिक रूपमा ‘सरप्राइज चेकिङ’ पनि भइरहेको प्रहरीले जनाएको छ। एसएसपी थापाले सम्भावित सुरक्षा चुनौतीसम्बन्धी सूचना संकलन तथा विश्लेषण गरी त्यसकै आधारमा सुरक्षा रणनीति बनाएर काम गरिने जानकारी दिए।
काठमाडौं जिल्लामा कुल ३२० मतदानस्थल रहेका छन्। तीमध्ये १७६ वटा सामान्य र १४४ वटा संवेदनशील मतदानस्थल रहेका छन् भने अतिसंवेदनशील मतदानस्थल भने नरहेको प्रहरीले जनाएको छ। निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै काठमाडौंमा मात्रै ३ हजार ८५४ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ। निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउन सुरक्षा निकाय उच्च सतर्कताका साथ परिचालित भएका छन्।