Politics

कञ्चनपुर कांग्रेसको निर्देशन—अन्य दलको पोस्टमा प्रतिक्रिया नदिनू, डिजिटल प्रचारमा जोड

कञ्चनपुर कांग्रेसको निर्देशन—अन्य दलको पोस्टमा प्रतिक्रिया नदिनू, डिजिटल प्रचारमा जोड

काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले आफ्ना नेता–कार्यकर्तालाई अन्य राजनीतिक दलका उम्मेदवारको सामाजिक सञ्जाल पोस्टमा लाइक, शेयर तथा कमेन्ट नगर्न निर्देशन दिएको छ। पार्टी सचिव भीमराज भट्टद्वारा जारी विज्ञप्तिमा आफ्ना उम्मेदवारबाहेक अन्य उम्मेदवारको पक्षपोषण हुने गरी कुनै अभिव्यक्ति, प्रचार–प्रसार वा सामाजिक सञ्जाल गतिविधि नगर्न आग्रह गरिएको छ।

ADVERTISEMENT

विज्ञप्तिमा उम्मेदवारसँग मात्र हिँड्ने तर स्थानीय मतदातासँग छलफल नगर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै आ–आफ्नो वडामा केन्द्रित भई पार्टीलाई जिताउने अभियानमा सक्रिय हुन निर्देशन दिइएको छ। आगामी २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले डिजिटल प्रचारलाई तीव्र बनाएको जनाएको छ। पार्टीको आधिकारिक फेसबुक पेजमार्फत १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारको प्रचार गरिएको छ भने प्रोफाइल र कभर फोटो परिवर्तन गर्दै रुख चिन्हमा मतदान गर्न आह्वान गरिएको छ। टिकटक, युट्युबलगायत सामाजिक सञ्जाल प्लेटफर्महरू पनि प्रचारका लागि प्रयोग भइरहेको नेताहरूले बताएका छन्।

प्रवक्ता देवराज चालिसेले बदलिँदो परिस्थितिमा परम्परागत प्रचार शैलीलाई प्रविधिले विस्थापित गर्दै लगेका कारण कांग्रेसले पनि डिजिटल माध्यमलाई प्राथमिकतामा राखेको बताए। उनका अनुसार उम्मेदवारहरू भूगोलमा सक्रिय रहँदै सामाजिक सञ्जालमार्फत मतदातासम्म पुग्ने प्रयास भइरहेको छ।

सभापति गगन थापाले समेत सामाजिक सञ्जालमार्फत स्वास्थ्य बीमा सुधार, नागरिकको स्वास्थ्य खर्च घटाउने प्रतिबद्धता तथा पूर्वाधार क्षेत्रमा रूपान्तरणकारी परिवर्तनको एजेन्डा सार्वजनिक गर्दै आएका छन्।

कांग्रेसले यसपटक १६५ वटै क्षेत्रमा आफ्ना उम्मेदवार रहेको उल्लेख गर्दै यसलाई ‘कांग्रेस  अभियानको रूपमा अघि बढाइएको र गठबन्धन राजनीतिबाट बाहिरिने ऐतिहासिक सुरुवात भएको दाबी गरेको छ। साथै ‘सही व्यक्ति, सही ठाउँ’ नारासहित उम्मेदवारलाई जिताउन आह्वान गरेको छ।