धनगढी । सुदूरपश्चिम प्रदेशको अग्रणी शैक्षिक संस्था SPA College ले राष्ट्रिय क्रिकेट टोलीका सदस्य Lokesh Bam लाई कलेजको ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। मंगलबार आयोजित कार्यक्रममा लोकेशलाई आधिकारिक रूपमा जिम्मेवारी प्रदान गरिएको हो। कलेजले शिक्षा, खेलकुद र व्यक्तित्व विकासका क्षेत्रमा विद्यार्थीलाई प्रेरित गर्ने उद्देश्यले उनलाई नियुक्त गरेको जनाएको छ।

लोकेश एसपीए कलेजका विद्यार्थीसमेत हुन् र नेपाली क्रिकेटमा उत्कृष्ट विकेटकिपर–ब्याटरका रूपमा परिचित छन्। उनले ट्वान्टी–२० विश्वकप छनोट, राष्ट्रिय, अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम प्रदेश र राष्ट्रको गौरव बढाउन योगदान गरेका छन्।
कलेजका प्रबन्ध निर्देशक Subas Shahi र क्याम्पस प्रमुख बुधराम चौधरीले ब्रान्ड एम्बासडर नियुक्ति कलेजका लागि गर्वको विषय भएको बताए। सोही अवसरमा लोकेश र विद्यार्थीबीच प्रेरणादायी प्रश्नोत्तर तथा अन्तर्क्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो।
यसअघि एसपीएले नारायण जोशी, कविता कुँवर र शेर मल्ललगायत खेलाडीहरूलाई पनि एम्बासडर नियुक्त गरिसकेको छ।