Sports

एलनको विस्फोटक शतकमा न्युजिल्याण्ड फाइनलमा, दक्षिण अफ्रिकामाथि ९ विकेटको फराकिलो जित

एलनको विस्फोटक शतकमा न्युजिल्याण्ड फाइनलमा, दक्षिण अफ्रिकामाथि ९ विकेटको फराकिलो जित

काठमाडौं । टी–२० विश्वकपको सेमिफाइनलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकामाथि एकपक्षीय जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। कोलकातास्थित इडेन गार्डेन्समा बुधबार भएको खेलमा १७० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४३ बल बाँकी रहँदै ९ विकेटको फराकिलो जित दर्ता गर्दै उपाधि नजिक पुगेको हो।

ADVERTISEMENT

न्युजिल्याण्डका ओपनर टिम सेइफर्ट र फिन एलनले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै दक्षिण अफ्रिकाको बलिङ आक्रमणमाथि दबाब सिर्जना गरेका थिए। पावरप्लेमा मात्र ८४ रन जोड्दै दुवैले टोलीको जितको आधार तयार पारे। सेइफर्ट ३३ बलमा ७ चौका र २ छक्कासहित ५८ रन बनाएर आउट भए।

त्यसपछि फिन एलनले विस्फोटक प्रदर्शन गर्दै ऐतिहासिक शतक प्रहार गरे। उनले केवल ३३ बलमा १० चौका र ८ छक्कासहित अविजित १०० रन बनाए। यो टी–२० विश्वकप इतिहासकै सबैभन्दा छिटो शतक मानिएको छ। यसअघि सन् २०१६ मा वेस्ट इन्डिजका क्रिस गेलले इंग्ल्यान्डविरुद्ध ४७ बलमा शतक बनाउँदै कीर्तिमान बनाएका थिए।

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सबैभन्दा छिटो शतक भने इस्टोनियाका साहिल चौहानको नाममा रहेको छ, जसले २०२४ मा साइप्रसविरुद्ध २७ बलमै शतक बनाएका थिए। तर टेस्ट राष्ट्रविरुद्धको प्रतिस्पर्धामा एलनको शतक सबैभन्दा छिटो मानिएको छ। यसअघि ३५ बलमा शतक बनाउने कीर्तिमान दक्षिण अफ्रिकाका डेभिड मिलर र भारतका रोहित शर्माको नाममा थियो।

दोस्रो विकेटका लागि एलनले रचिन रविन्द्रसँग मिलेर सहज रूपमा लक्ष्य पूरा गरे। अन्तिम २२ बलमा उनीहरूले ४९ रन जोडे। रविन्द्र ११ बलमा २ चौकासहित १३ रनमा अविजित रहे। दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले २८ रन खर्चेर १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका सुरुवातमै दबाबमा परेको थियो। ७७ रन बनाउँदासम्म ५ विकेट गुमाएको टोलीलाई प्रतिस्पर्धी योगफलतर्फ डोर्‍याउने काम मार्को यानसेनले गरे। उनले ३० बलमा ५ छक्का र २ चौकासहित अविजित ५५ रन बनाए।

डेवाल्ड ब्रेभिसले २७ बलमा ३४ तथा ट्रिस्टन स्टब्सले २४ बलमा २९ रनको योगदान दिए। न्युजिल्याण्डका लागि म्याट हेनरी, कोल म्याककोन्ची र रचिन रविन्द्रले समान २–२ विकेट लिए।

यस जितसँगै न्युजिल्याण्ड २०२१ पछि दोस्रो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको छ। पहिलो उपाधि जित्ने लक्ष्यसहित अब न्युजिल्याण्डले ८ मार्चमा हुने फाइनलमा भारत र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।