Global News

एपस्टिन प्रकरणमा हिलारी क्लिन्टनको बयान: ‘मलाई अपराधबारे थाहा थिएन’

एपस्टिन प्रकरणमा हिलारी क्लिन्टनको बयान: ‘मलाई अपराधबारे थाहा थिएन’

वासिङ्टन डीसी । अमेरिकाकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन ले कंग्रेसको एक समितिसमक्ष दिएको बयानमा आफूलाई जेफ्री एपस्टिन का अपराधबारे कुनै जानकारी नभएको बताएकी छन् ।

ADVERTISEMENT

बिहीबार प्रतिनिधि सभाको House Oversight Committee समक्ष करिब छ घण्टा बन्द ढोकाभित्र बयान दिएपछि उनले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्, “म सत्य बाहिर आएको हेर्न चाहन्छु । क्लिन्टनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प लाई पनि एपस्टिनसँगको विगत सम्बन्धबारे शपथसहित बयान दिन आग्रह गरेकी छन् । उनका पति तथा पूर्व राष्ट्रपति बिल क्लिन्टन ले पनि समितिसमक्ष बयान दिने कार्यक्रम रहेको जनाइएको छ ।

यसअघि कंग्रेसको समनलाई क्लिन्टन दम्पतीले राजनीतिक उद्देश्यबाट प्रेरित भन्दै अस्वीकार गरेका थिए । तर अवहेलनासम्बन्धी कारबाहीको सम्भावना बढेपछि उनीहरू बयान दिन सहमत भएका हुन् । क्लिन्टन दम्पती र ट्रम्प तीनै पक्षले एपस्टिन प्रकरणमा कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन् । हिलारी क्लिन्टनले आफ्नो बयान सार्वजनिक नगरिएकोमा निराशा व्यक्त गरिन् । बयान सार्वजनिक भएको भए आफूले बाहिर आएर व्याख्या गर्नुपर्ने अवस्था नआउने उनको भनाइ थियो ।

समितिका अध्यक्ष जेम्स कोमर ले अनुसन्धानका क्रममा महत्वपूर्ण प्रश्न उठाएको भन्दै क्लिन्टनले उनको प्रशंसा गरिन् । साथै, रिपब्लिकन सदस्यहरूले एपस्टिन वा उनकी सहयोगी घिस्लेन म्याक्सवेल सम्बन्धमा अन्य साक्षीहरूसँग पर्याप्त प्रश्न नगरेको आरोप पनि उनले लगाइन् । एपस्टिन प्रकरणसँग सम्बन्धित राजनीतिक तथा कानुनी बहस अमेरिकाभित्र अझै तीव्र बन्दै गएको छ ।