काठमाडौं । नेपालीमूलका बलिउड गायक उदित नारायण र उनकी कान्छी पत्नी दीपा नारायणविरुद्ध जेठी पत्नी रञ्जना झाले विहार प्रहरीमा उजुरी दर्ता गराएकी छन्। भारतीय सञ्चारमाध्यम अमर उजाला ले फेब्रुअरी १० मा प्रकाशित गरेको समाचारअनुसार रञ्जनाले सन् १९९६ मा आपराधिक षड्यन्त्र गरेर आफ्नो गर्भाशय निकालिएको आरोप लगाएकी छन्।

रञ्जनाले भारतको विहार राज्यस्थित सुपौल जिल्लाको महिला थानामा मंगलबार उजुरी दिएकी हुन्। उजुरीमा उनले सन् १९८४ डिसेम्बर ७ मा उदित नारायण झासँग विवाह भएको दाबी गरेकी छन्। विवाहपछि सन् १९८५ मा आफू भारत गएको उल्लेख गर्दै पछि उदित भारतमै बस्न थालेपछि गायिका दीपा गहतराज ९दीपा नारायण० सँग दोस्रो विवाह गरेको आरोप लगाएकी छन्।
उदित नारायण झा सप्तरीको कञ्चनरुप नगरपालिका–भारदहका नागरिक हुन्। उनले सप्तरीबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए र रेडियो नेपालमा केही वर्ष कार्यरत रहे। त्यसपछि भारतीय दूतावासको छात्रवृत्तिमा संगीत अध्ययनका लागि भारत गएका थिए।
रञ्जनाले अधिवक्ता करुणाकान्त झासहित महिला थानामा उजुरी दर्ता गराएकी हुन्। उनको माइती सुपौल जिल्ला, बलुवा बजार थाना अन्तर्गत संस्कृत निर्मली–११ मा रहेको बताइएको छ। उनी ६१ वर्षीया चन्द्रकान्त झाकी छोरी हुन्। उजुरीमा उदित नारायणका भाइहरू सञ्जयकुमार झा र ललितनारायण झालाई पनि प्रतिवादी बनाइएको जनाइएको छ।
उजुरीअनुसार सन् १९९६ मा उदितका भाइ ललितनारायण झाले उपचारका नाममा दिल्ली लगेर एक अस्पतालमा बिना जानकारी उनको गर्भाशय निकालिएको आरोप छ। साथै सन् २००६ मा उदितलाई भेट्न दिल्ली जाँदा आफूलाई अपमानपूर्वक त्यहाँबाट हटाइएको रञ्जनाले दाबी गरेकी छन्।
यसअघि पनि रञ्जनाले भारतीय महिला आयोगमा उदितविरुद्ध उजुरी दिएकी थिइन्। त्यतिबेला उदितले रञ्जनालाई पहिलो पत्नीका रूपमा स्वीकार गरेको उल्लेख गरिएको छ। तर त्यसअनुसार आफूले कुनै सम्मान वा सुविधा नपाएको उनको गुनासो छ।
महिला थानाध्यक्ष अञ्जु तिवारीले घटना करिब ३० वर्ष पुरानो भए पनि उजुरीमाथि छानबिन गरिने बताएकी छन्। प्राप्त तथ्य र प्रमाणका आधारमा आवश्यक कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।
