काठमाडौँ । अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमा अमेरिकी सेनाको अपरेसन सफलतापूर्वक अघि बढेको दाबी गर्दै युद्ध अपेक्षा गरिएको चार साता भन्दा अघि सकिने बताएका छन्। यससँगै मध्यपूर्वमा जारी युद्धले विश्व तेल बजारमा अस्थिरता ल्याएको छ।

सोमबार अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य १०० डलरभन्दा माथि पुगेको थियो र उच्च बिन्दुमा १२० डलरसम्म पुगेको देखियो। तर मंगलबार मूल्य फेरि ९० डलरभन्दा तल झरेको थियो। ट्रम्पले युद्ध चाँडै सकिने घोषणा गरेसँगै मूल्यवृद्धि रोकिएको बताइएको छ। इरानले अमेरिकी दाबीलाई खारेज गर्दै प्रतिकार गर्ने चेतावनी दिएपछि तेलको मूल्य फेरि बढ्न थाल्यो। यसबीच ट्रम्पले हर्मुज घाटी खुलाउन र वैश्विक आपूर्ति सुनिश्चित गर्न रुसमाथि लगाइएका इन्धन प्रतिबन्ध हटाउने संकेत दिएका छन्। उनले सोमबार फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै भने, “हामीले केही देशमाथि प्रतिबन्ध लगाएका छौं। हर्मुज घाटी खुलाउन हामी ती प्रतिबन्ध हटाउँदै छौं।”
विश्वका प्रमुख तेल निर्यातकर्ता कम्पनी Saudi Aramco ले हर्मुज बन्द हुँदा वैश्विक तेल आपूर्ति जोखिममा पर्ने चेतावनी दिएको छ। हर्मुज घाटी इरान र अन्य अरब देशको समुद्री मार्ग हुँदै विश्वको लगभग २० प्रतिशत तेल र एलएनजी ग्यास आपूर्ति हुने गर्दछ। इरानले आयातुल्लाह अली खामेनेईका छोरा मोज्तबा खोमेनेईलाई उत्तराधिकारी घोषणा गर्दै युद्ध जारी राख्ने स्पष्ट संकेत दिएको छ। ट्रम्पले भने इरानको मिसाइल कार्यक्रम तहस–नहस भएको दाबी गरेका थिए, तर इरानले इजरायल र पश्चिम एसियाका देशहरूमा शक्तिशाली मिसाइल प्रहार गरिने चेतावनी दिएको छ।
विश्लेषकहरूले पश्चिम एसियामा युद्ध र हर्मुज घाटी बन्द हुँदा वैश्विक ऊर्जा आपूर्ति जोखिममा परेको बताउँछन्। युरोपेली युनियनमा पनि रुसी तेल तथा ऊर्जा प्रतिबन्ध हटाउन दबाब बढेको छ। हंगेरीका विदेशमन्त्री Peter Szijjarto ले यो कदमले यूरोपेली अर्थतन्त्रलाई रक्षा गर्न आवश्यक रहेको बताएका छन्।
यसबीच रुसले पनि विश्व बजारमा तेल र ग्यास आपूर्ति बढाउने तयारी गरेको छ। रुसका राष्ट्रपति Vladimir Putin ले आफ्नो कम्पनीहरूलाई उच्च परिमाणमा उत्पादन र निर्यातका लागि तयार रहन निर्देशन दिएका छन्। तेल बजारमा देखिएको अस्थिरता, ट्रम्प प्रशासनको प्रतिबन्ध नीति, र मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा फेरि ऊर्जा संकटको सम्भावना उजागर गरेको छ।