Politics

इरानमाथिको सम्भावित अमेरिकी आक्रमण अहिलेको अवस्था किन फरक छ

इरानमाथिको सम्भावित अमेरिकी आक्रमण अहिलेको अवस्था किन फरक छ

इरान नजिकै अमेरिकी विमानवाहक युद्धपोत यूएसएस अब्राहम लिङ्कन सहितको लडाकु जहाज समूहको परिचालनपछि इरान–अमेरिका द्वन्द्व नयाँ र खतरनाक मोडमा पुगेको छ। पछिल्ला वर्षहरूमा देखिएका सीमित तनावभन्दा अहिलेको अवस्था फरक र बढी जोखिमपूर्ण मानिएको छ।

ADVERTISEMENT

यसअघि इरानले अमेरिका विरुद्ध प्रतिक्रिया जनाउँदा प्रत्यक्ष युद्ध नचाहेको सन्देश दिने रणनीति अपनाउँदै आएको थियो। सन् २०२० मा इरानी कमाण्डर कासिम सुलेमानीको हत्या पछि इरानले इराकस्थित अमेरिकी बेसमा क्षेप्यास्त्र प्रहार गर्दा पूर्वजानकारी दिइएको थियो र ठूलो मानवीय क्षति भएन। त्यसलाई तनाव व्यवस्थापनको प्रयासका रूपमा हेरिएको थियो।

तर अहिलेको परिस्थिति उल्लेखनीय रूपमा बदलिएको छ। इरान सन् १९७९ मा इस्लामिक गणतन्त्र स्थापना भएयताकै सबैभन्दा ठूलो आन्तरिक अशान्तिबाट गुज्रिरहेको छ। पछिल्ला महिनाहरूमा भएका सरकारविरोधी प्रदर्शनमाथि कडा दमन गरिएको छ। मानवअधिकार संस्थाहरूका अनुसार हजारौँ मानिस मारिएका वा घाइते भएका छन्। लामो समयदेखि इन्टरनेट बन्द रहेकाले वास्तविक अवस्था अझै स्पष्ट हुन सकेको छैन।

यस्तो आन्तरिक संकटका बीच अमेरिकाले गरेको सैन्य दबाबले तेहरानलाई थप आक्रामक बनाउने जोखिम देखिएको छ। विश्लेषकहरूका अनुसार अमेरिकाले सीमित आक्रमण गरेमा इरानी सरकारले त्यसलाई बहाना बनाएर देशभित्र अझ कडा दमन गर्न सक्छ। अर्कोतर्फ, व्यापक सैन्य आक्रमणले इरानलाई अराजकतातर्फ धकेल्ने र त्यसको असर पुरै क्षेत्रभर फैलिन सक्ने चेतावनी दिइएको छ।

इरानले कुनै पनि अमेरिकी आक्रमणलाई युद्धकै रूपमा लिने स्पष्ट सन्देश दिइसकेको छ। इरानी सेना र रिभोल्युसनरी गार्डका उच्च अधिकारीहरूले अमेरिकी हमला भए खाडी क्षेत्रका अमेरिकी आधारहरू पनि सुरक्षित नहुने चेतावनी दिएका छन्, जसले क्षेत्रीय द्वन्द्वको जोखिम बढाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पूर्णस्तरको युद्ध चाहँदैनन् भन्ने बुझाइ तेहरानमा पनि छ। त्यस्तै, इरान सैन्य रूपमा पहिलेभन्दा कमजोर भएको तथ्य वासिङ्टनलाई थाहा छ। तर दुवै पक्षबीचको यही आपसी बुझाइ गलत निर्णयमा परिणत हुन सक्ने खतरा भने कायमै रहेको विश्लेषकहरू बताउँछन्।

विशेषज्ञहरूका अनुसार अहिलेको इरान–अमेरिका तनाव पछिल्ला वर्षहरूमध्ये सबैभन्दा संवेदनशील र खतरनाक मोडमा पुगेको छ। सन्तुलन बिग्रिए यसको मूल्य केवल सरकारहरूले मात्र होइन, लाखौँ इरानी सर्वसाधारण र सम्पूर्ण मध्यपूर्व क्षेत्रले चुकाउनुपर्ने जोखिम रहेको छ।