Global News

इरानको बुशेहर परमाणु केन्द्रबाट रूसी कर्मचारी सार्ने तयारी

इरानको बुशेहर परमाणु केन्द्रबाट रूसी कर्मचारी सार्ने तयारी

रुस । मध्यपूर्वमा बढ्दो तनावबीच रुसले इरानस्थित बुशेहर परमाणु विद्युत् केन्द्रमा कार्यरत आफ्ना कर्मचारी र तिनका परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी गरेको छ। रुसको सरकारी परमाणु ऊर्जा निगम रोसाटोमले केन्द्रमा काम गरिरहेका कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई चरणबद्ध रूपमा रुस फर्काउने योजना बनाएको जनाएको छ।

ADVERTISEMENT

रुसको सरकारी समाचार संस्था तासका अनुसार रोसाटोमका प्रमुख एलेक्सी लिखाचेभले ‘स्ट्राना रोसाटोम’ पत्रिकासँग कुरा गर्दै छिट्टै कर्मचारीहरूलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको बताएका हुन्।

लिखाचेभका अनुसार बुशेहर परमाणु विद्युत् केन्द्रको दोस्रो र तेस्रो युनिट निर्माणमा ६०० भन्दा बढी रूसी कर्मचारी संलग्न छन्। हालको परिस्थितिमा केन्द्रमा कार्यरत रूसी कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्नु नै पहिलो प्राथमिकता रहेको उनले बताएका छन्। मध्यपूर्वमा बढ्दो तनावका कारण केन्द्रमा भइरहेको मुख्य निर्माण कार्य अस्थायी रूपमा रोकिएको रोसाटोमले जनाएको छ। तर केही कर्मचारी भने उपकरणको मर्मत–सम्भार तथा तत्काल रोक्न नसकिने प्राविधिक काम पूरा गर्न साइटमै कार्यरत रहेका छन्।

रोसाटोमका अनुसार दोस्रो चरणको कार्यबल व्यवस्थापन योजनाअन्तर्गत कर्मचारीका परिवारका सदस्य र केही प्राविधिकलाई रुस फर्काउने तयारी लगभग पूरा भइसकेको छ।

बुशेहर परमाणु ऊर्जा केन्द्र इरानको प्रमुख परमाणु ऊर्जा परियोजनामध्ये एक हो, जसको विस्तार परियोजनामा रूसी प्राविधिकहरूको महत्वपूर्ण संलग्नता रहेको छ।