Global News

इरानको ड्रोन–मिसाइल आक्रमणको अरब लिगद्वारा निन्दा: खाडी राष्ट्रहरूमा बढ्दो तनाव

इरानको ड्रोन–मिसाइल आक्रमणको अरब लिगद्वारा निन्दा: खाडी राष्ट्रहरूमा बढ्दो तनाव

अन्तर्राष्ट्रिय । खाडी क्षेत्रका विभिन्न देशहरूमा भएको मिसाइल र ड्रोन आक्रमणपछि अरब लिगले इरानको कदमलाई कडा शब्दमा निन्दा गरेको छ। अरब लिगका महासचिव अहमद अबुल घेइतले सदस्य राष्ट्रहरूमाथि गरिएको आक्रमणलाई “अविवेकी र लापरबाहीपूर्ण” भन्दै यसले क्षेत्रीय सुरक्षामा गम्भीर असर पार्ने चेतावनी दिएका छन्।

ADVERTISEMENT

कायरोमा अरब विदेश मन्त्रीहरूको आपतकालीन भिडियो सम्मेलनलाई सम्बोधन गर्दै उनले तेहरानलाई आफ्नो रणनीतिक कदम पुनर्विचार गर्न आग्रह गरेका छन्। उनका अनुसार खाडी देशहरूले शान्ति कायम राख्ने प्रयास गरिरहेका बेला इरानले सदस्य राष्ट्रहरूमाथि “विश्वासघाती ड्रोन र रकेट आक्रमण” गरेको छ। “यस्तो आक्रमण कुनै पनि बहाना वा सन्दर्भमा न्यायोचित ठहराउन सकिँदैन,” उनले भने।

अरब लिगका अनुसार आइतबार पनि इरानले खाडी क्षेत्रका विभिन्न देशहरूमा रहेका महत्वपूर्ण भौतिक संरचनाहरूलाई लक्षित गरी आक्रमण गरेको छ। कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्धन भण्डारण ट्याङ्कमा ड्रोन आक्रमण भएको बताइएको छ भने बहराइनमा समुद्री पानीलाई पिउने पानीमा रूपान्तरण गर्ने डिसेलिनेसन प्लान्टमा क्षति पुगेको छ।

कुवेतको गृह मन्त्रालयले सीमा सुरक्षामा खटिएका दुई जना सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि गरेको छ। युद्ध सुरु भएदेखि हालसम्म खाडी क्षेत्रका विभिन्न देशहरूमा भएका आक्रमणमा कम्तीमा १६ जनाको ज्यान गएको बताइएको छ, जसमा आठ जना सर्वसाधारण रहेका छन्।

अमेरिका र इजरायलले इरानविरुद्ध ठूलो हवाई अभियान सुरु गरेपछि तेहरानले त्यसको प्रतिकारस्वरूप छिमेकी देशहरूमा रहेका अमेरिकी सैन्य आधारलाई निशाना बनाउँदै आएको बताइएको छ। खाडी राष्ट्रहरूले भने आफ्नो भूमि इरानविरुद्धको सैन्य कारबाहीका लागि प्रयोग नभएको दाबी गर्दै आएका छन्।

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले भने आफ्नो भूमिबाट छिमेकी देशहरूविरुद्ध आक्रमण नगर्ने नीति रहेको बताउँदै यदि कुनै देशको भूभाग प्रयोग गरेर इरानमाथि आक्रमण गरिएमा त्यसको जवाफ दिन तेहरान बाध्य हुने चेतावनी दिएका छन्। उनले केही दिनअघि छिमेकी देशहरूका अमेरिकी सैन्य आधारबाट आक्रमण भएको भन्दै त्यहाँ प्रतिकारात्मक कारबाही गर्नुपरेको उल्लेख गर्दै त्यसका लागि माफी पनि मागेका थिए।

यसबीच साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र कुवेतले दुबई र बहराइनको मनामा क्षेत्रमा ठूलो विस्फोटको आवाज सुनिएको जानकारी दिएका छन्। ती देशहरूले सम्भावित नयाँ आक्रमणको चेतावनी जारी गर्दै सुरक्षा सतर्कता बढाएका छन्।

कुवेतको सरकारी समाचार एजेन्सीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको आगो नियन्त्रणमा आइसकेको छ र ठूलो मानवीय क्षति भएको छैन। इरानी सेनाले भने उक्त ड्रोन आक्रमणलाई “महत्त्वपूर्ण पूर्वाधारमाथिको प्रत्यक्ष निशाना” भएको बताएको छ।

इरानले जारी गरेको अर्को विज्ञप्तिमा हवाई आक्रमणपछि आकाशमा विस्फोट भएका टुक्रा र भग्नावशेष खस्दा केही नागरिक संरचनामा भौतिक क्षति पुगेको उल्लेख गरिएको छ। विश्लेषकहरूका अनुसार खाडी क्षेत्रका देशहरू प्रत्यक्ष रूपमा युद्धमा संलग्न नभए पनि उनीहरूका पूर्वाधारमा भइरहेका आक्रमणले क्षेत्रीय द्वन्द्व अझ फैलिने जोखिम बढाएको छ।